अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुलुकमा लकडाउन अन्त्य गर्ने योजना सार्वजनिक गर्नुभएको छ । लकडाउन तीन चरणमा अन्त्य गर्ने योजना ट्रम्प प्रशासनको छ । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या लगातार बढी रहे पनि ट्रम्पले महामारी फैलिन नदिनका लागि लागु गरिएको लकडाउनका नियमहरु चाँडै अन्त्य गरेर देश सामान्य अवस्थामा ल्याउने घोषणा गर्नुभएको हो ।
ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा ट्रम्पले सबै अमेरिकी कोरोना भाइरसविरुद्ध एकताबद्ध भएर लागेको र रोकथामका उपायहरुले अवस्था अति खराब हुनबाट रोकेको दावी गर्नुभयो । लकडाउन दीर्घकालीन उपाय नहुने भन्दै उहाँले सामान्य गतिविधि सञ्चालन गर्ने सम्बन्धी योजना सार्वजनिक गर्नुभएको हो । केही राज्यको लकडाउन भोलि नै अन्त्य गर्न मिल्ने अवस्था रहेको उहाको भनाई छ ।
यसअघि ट्रम्पले अवस्था राम्रो भएका केही राज्य मे १ भन्दा पहिले नै खुला हुने सम्भावना रहेको बताउनुभएको थियो । हरेक राज्यको अवस्था फरक रहेकाले केही राज्यको लकडाउन चाँडै अन्त्य हुने र केहीको भने अझै समय लाग्ने भन्दै ट्रम्पले राज्यका गभर्नरहरुलाई गर्न चाहेका कुरा तीव्र गतिमा गर्न निर्देशन दिनुभएको छ । ट्रम्प प्रशासनले लकडाउन खोल्न सार्वजनिक गरेको तीन चरणको योजनामा पहिलो चरणमा भौतिक दूरी कायम गर्ने, १० जनाभन्दा बढीको समूह नबनाउने, अनावश्यक यात्रा नगर्ने उल्लेख छ ।
दोस्रो चरणमा जोखिम रहेका व्यक्तिहरु पहिलो चरणमा जस्तै सेल्टरमै रहने, सार्वजनिक स्थानमा जाँदा भौतिक दूरी कायम गर्ने तथा ५० जनाभन्दा बढीको भीड नगर्ने भनिएको छ । नयाँ सामान्य भनिएको तेस्रो चरणमा जोखिमयुक्त व्यक्ति पनि सामाजिक गतिविधिमा सामेल हुन पाउने तर उनीहरुले भौतिक दूरी भने अपनाउनु पर्ने छ । ट्रम्पले लकडाउनको विरोधमा प्रदर्शन गरेकाहरुप्रति सहानुभुति प्रकट गर्नुभएको छ । यसअघि, मिसिगन, नर्थ क्यारोलिना तथा केन्टुकेीमा ट्रम्पका समर्थकले लकडाउनको विरोधमा प्रदर्शन गरेका थिए ।
वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले भने नयाँ सामान्य अवस्था पनि महामारीबाट मुक्त भएको अवस्था नहुने भन्दै अहिले नै सबै कुरा राम्रो भयो भनेर ढुक्क हुने अवस्था नरहेकोमा प्रशासनलाई सचेत गराउनुभएको छ । अमेरिकामा ३४ हजार ६ सयभन्दा बढीको कोरोनाका कारण मृत्यु भैसकेको छ भने ६ लाख ७७ हजार ५ सय भन्दा बढी संक्रमित छन् ।