भारतमा लकडाउन अर्थात् बन्दाबन्दीको आगामी मे ३ अर्थात् बैशाख २१ गतेसम्मका लागि थपिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २१ दिनदेखि जारी लकडाउनको समय मे ३ (वैशाख २१) सम्म थप्ने घोषणा गर्नुभएको हो । यसअघि देशमा जारी लकडाउन थप्नेबारेमा प्रधानमन्त्री मोदीले देशका कोरोना प्रभावित राज्यका मुख्यमन्त्रीहरूसँग छलफल गर्नुभएको थियो । छलफलमा मुख्यमन्त्रीहरुले लकडाउन अझै जारी राख्नुपर्ने सुझाव दिएका थिए ।
देशवासीका नाममा सम्बोधन गर्दै मोदीले भारतले समस्या बढ्छ भनेर नपर्खी तीब्र गतिमा फैसला गरेर भरसक कोरोनालाई नियन्त्रण गर्ने प्रयास गरेको बताउनुभयो । उहाँले आगामी एकसाता लकडाउनलाई कडाइकासाथ लागु गरिने पनि बताउनुभएको छ । भारतमा अहिलेसम्म १० हजार ५ सयभन्दा बढीमा कोरोनाको संक्रमण देखिएको भने ३५८ जनाको मृत्यु भइसकेको छ । भारतले शुरुमै २१ दिनको लकडाउन गरेको थियो ।