अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु भएको लकडाउन देशभरबाट फिर्ता लिनका लागि आफूसँग ‘पूर्ण’ अधिकार रहेको दाबी गर्नुभएको छ । ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको ब्रिफिङ्गको क्रममा राष्ट्रपतिका रुपमा आफूसँग लकडाउन फिर्ता लिने पूर्ण अधिकार रहेको दाबी गर्नुभएको हो । उहाँको यो भनाईले राज्यका गभर्नर तथा संवैधानिक कानूनका ज्ञाताहरु आश्चर्य र दुविधाको अवस्थामा पुगेका छन् ।
ट्रम्पले ब्रिफिङ्गमा भन्नुभयो, ‘अमेरिकाको राष्ट्रपतिसँग यसको पूर्ण अधिकार हुन्छ ।’ पत्रकारसँग आक्रामक रुपमा प्रस्तुत हुनुभएका ट्रम्पले राष्ट्रपतिका हिसाबले आफूलाई सबै राज्यका सम्बन्धमा निर्णय लिने अधिकार रहेको दाबी गर्नुभएको हो ।
अमेरिकाको पूर्व र पश्चिम तटीय क्षेत्रका नौ राज्यले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरेको घरमै बस्नु पर्ने कडा नियम हटाउने तयारी गरेका छन् । अमेरिकाको संविधान अनुसार सार्वजनिक व्यवस्था र सुरक्षा कायम गर्ने अधिकार राज्यमा रहन्छ । यसको अर्थ राज्यका गभर्नरहरुमा अहिले लागु भएको लकडाउन वा सामाजिक दूरी सम्बन्धी नियमहरु कुन बेला फिर्ता लिने वा खुकुलो बनाउने भन्ने अधिकार हुने संवैधानिक कानूनका विज्ञले बताएका छन् ।