अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१४ | Colorodo: 15:29

ट्रान्सपरेन्सी इन्टरनेशनलद्धारा स्वास्थ्य सामाग्री खरिद प्रकरणको छानविन गर्न माग

बिआरटीनेपाल २०७६ चैत ३० गते २२:५४ मा प्रकाशित

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआइ) नेपालले कोरोना भाइरस नियन्त्रणका स्वास्थ्य सामाग्री खरिद प्रकरणको छानविन गर्न माग गरेको छ । टीआई नेपालका अध्यक्ष खेमराज रेग्मीले प्रेस विज्ञप्ति गर्दै सो प्रकरणको छानबिनको माग गर्नुभएको छ ।

उहाँले जारी गरेको विज्ञप्तिमा आपतकालिन संवेदनशीलताको दुरुपयोग गर्दै राजनीतिक नेतृत्व तहकै संलग्नतामा अति आवश्यक स्वास्थ्य सामाग्रीहरूको खरिद प्रकरणमा राष्ट्रघाती कमिसनखोरहरूसँग साँठगाँठ गरी राज्यकोषको चरम अपचलन गर्ने दुष्प्रयासको घोर भत्र्सना गरिएको छ ।

यस खरिद प्रकरणमा गलत नियत थियो भन्ने कुराको पुष्ट्याईं सरकारको सो सम्बन्धी पछिल्लो निर्णयले नै गरेको टीआईले बताएको छ । सार्वजनिक खरिद गर्दा सम्बन्धित कानूनबमोजिम स्वस्थ प्रतिस्पर्धाको आधारमा स्वतन्त्र, निष्पक्ष र पारदर्शी तरिकाले गर्नुपर्नेमा कहिले नीतिगत निर्णयको नाममा त कहिले सरकार–सरकारबीचमा खरिद गर्ने नाममा सरकारले पटक–पटक विचौलिया एवं दलालसँगको मिलोमतोमा राज्यकोषको ठूलो रकम अपचलन गरिरहेको पनि टीआईले दावी गरेको छ ।

प्रधानमन्त्रीकै भ्रष्टाचार विरोधी प्रतिवद्धतालाई कार्यान्वयन गर्न पनि यस राष्ट्रिय संकटको बेलामा रचिएको स्वास्थ्य सामग्री खरिद भ्रष्टाचार प्रकरणमा संलग्न राजनीतिक नेतृत्व तहसमेतका सबै पदाधिकारीहरूमाथि आवश्यक अनुसन्धान गरी निर्मम कारबाही गर्न प्रधानमन्त्री एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग टीआईले माग गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू