अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४५ | Colorodo: 01:00

निषेध गरेर जाने सोचको आयु सकियोः पूर्वराजा ज्ञानेन्द्र शाह

बिआरटीनेपाल २०७६ चैत ३० गते २२:४२ मा प्रकाशित

पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध गरेर जाने सोचको आयु सकिएको बताउनुभएको छ । नयाँ वर्ष २०७७ को अवसरमा एक सन्देश दिँदै पूर्वराजा शाहले कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको धरातलीय यथार्थलाई आत्म स्वीकार गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

पूर्वराजा शाहले आफ्नो सन्देशमा भन्नुभएको छ , ‘कसैले कसैलाई निषेध गरेर जाने सोचको आयु समाप्त भएको धरातलीय यर्थाथलाई आत्म स्वीकार गर्दै राष्ट्रिय भाव र एकता प्रवलिकरणको मार्ग स्पष्ट गर्न अब पनि सकेनौं भने इतिहासमा अर्को एउटा महाभूल हुने हामीले ठानेका छौं ।’

उहाँले कोरोना भाइरसको विश्वव्यापी महामारीबाट देशका विभिन्न भूभाग र विश्वका विभिन्न देशमा रहे बसेका सबै नेपाली आक्रान्त, सन्त्रस्त र समस्याग्रस्त भएको बताउँदै यस्तो स्थितिमा देश र आफुलाई सुरक्षित राख्न र बचाउ गर्दै सबैले सजगता अपनाउनुपर्नेमा जोड दिनुभएको छ।

‘नेपाली जनता खुशी र सुखी रहून् एवम् देशको शिर सधैं सगरमाथा झैं उच्च रहोस् भन्ने नै हाम्रो अटल चाहना थियो, छ र रहनेछ’ पूर्वराजा शाहले उल्लेख गर्नुभएको छ । आफुलाई गौण बनाएर देशको सर्वोच्चताको रक्षार्थ राष्ट्र र नेपाली जनताप्रति पर्नसक्ने विभिन्न समयका खतरा टार्न आफुले हरसम्भव प्रयास गरेको सर्वविदितै रहेको दावी उहाँले गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय