अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४९ | Colorodo: 06:04

अमेरिकामा Covid-19 बाट निधन लिम्बुको परिवारलाई सहयोग रकम $२०,९४० हस्तान्तरण

बिआरटीनेपाल २०७६ चैत ३० गते ११:४७ मा प्रकाशित

न्यूयोर्क:-गत मार्च २४ तारिख विश्व मानवमै सन्त्रास फैलाइरहेको Covid-19 को संक्रमणबाट अमेरिकामा निधन भएको अनिल सुब्बा लिम्बुको परिवारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । मृतक अनिलको नाममा स्थापना गरिएको गोफण्ड मार्फत सङ्कलन गरिएको जम्मा २१ हजार ७०६ अमेरिकन डलर मध्ये गोफण्डले २.९ % प्रतिशत तथा ३० सेन्ट प्रति सहयोग कटाएर पीडितको परिवारलाई जम्मा २० हजार ९ सय ४० अमेरिकन डलर राहत सहयोग रकम स्व. अनिल सुब्बाको श्रीमती शान्ता सुब्बाको नाममा रहेको Capital One बैकको खाता नम्बर:-(xxxxxx८४३०) मा सिधै जम्मा हुने गरी स्थानान्तरण गरिएको कुरा राहत जुटाउन खटिएका मध्येका एक नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनीन्द्र नेम्बाङले बताए ।

१६ दिन अगाडि खोलिएको gofungme मा अमेरिका लगायत अन्य देशबाट पनि आर्थिक सहयोग गरेको देखिएको बताउँदै, नेम्बाङले राहत सङ्कलनका निमित्त सबै सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधिहरू, सामाजिक अभियन्ता र आम नागरिकले सहयोग गरेको बताए। यसले पीडितको परिवारलाई ठुलो राहत पुग्ने जानकारी समेत नेम्बाङले बताएका छन् । यो गोफण्डलाई भर्जिनिया निवासी डा.देशराज सम्योगले तत्काल सञ्चालनमा ल्याएर निरन्तर प्राविधिक रूपमा सहयोग गरेका थिए भने परिवारको तर्फबाट पुष्पलता सुब्बाले सम्पूर्ण सहयोगी दातालाई सहयोग गर्ने आग्रह गरेका थिए । यसको समन्वय किराँत याक्थुङ चुम्लुङ अमेरिकाले गरेका थिए ।

अनिल सुब्बा ( रमेश सम्वाहाङफे ) लिम्बुको गत मार्च २४ तारिख Covid-19 को संक्रमणबाट उपचारको क्रममा न्यु-योर्कको Elmhurst Hospital मा निधन भएको थियो । पाँचथरको कुम्मायक गाउँपालिका रानी गाउँमा जन्मिएको अनिल सुब्बा लिम्बु विगत लामो समय देखि अमेरिकाको न्यूयोर्कमा रहँदै आएका थिए । ४९ वर्षको अल्प आयुमा नै निधन भएको अनिल लिम्बुको एक श्रीमती शान्ता लावती लिम्बु, दुई छोराहरू प्रकाश सुब्बा लिम्बु, ताङछो हाङ सुब्बा लिम्बु र एक छोरी रेणु सुब्बा लिम्बु छन् ।

प्रतिक्रिया