अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३५ | Colorodo: 05:50

१२०० डलरको राहत कहिले पाइन्छ ?

बिआरटीनेपाल २०७६ चैत २८ गते २२:३२ मा प्रकाशित

न्यु योर्क । कोरोना भाइरसको महामारीबाट राहत दिने उद्देश्यले कङ्ग्रेसले पारित गरेको २ ट्रिलियन डलरको राहत प्याकेजमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको २ साता बितिसकेको छ । तर, कम आय भएका सर्वसाधारणले पाउने भनिएको प्रति व्यक्ति १ हजार २ सय डलरको राहत कहिले हात पार्छन् भन्ने अझसम्म यकिन भइसकेको छैन । यस सम्बन्धमा सञ्चार माध्यममा अझ भ्रामक समाचारहरू प्रकाशित भइरहेका छन् ।

सर्वसाधारणले राहत रकम सोझै ब्याङ्क अथवा चेकमा पाउने बताइएको छ । सोसल सेक्युरिटी बेनिफिट, डिसेबिलिटी बेनिफिट र रेलरोड रिटायरमेन्ट बेनिफिट लिइरहेका मानिस तथा सन् २०१८ वा २०१९ मा तिरेको कर फिर्ता लिएका सर्वसाधारणका हकमा राहत रकम सोझै ब्याङ्कमा जम्मा गरिने जनाइएको छ । अन्य मानिसका हकमा घर-घरमा चेक पठाइने भनिएको छ । तर, सर्वसाधारणले राहत रकम कहिले पाउँछन् भन्ने कुनै पनि सरकारी निकायले खुलाएका छैनन् ।

तर, सञ्चार माध्यमहरूले छिटोमा अर्को सातादेखि राहत रकम खातामा आइपुग्ने दाबी गरेका छन् । युएस टुडेले अटोमेटिक पेमेन्ट अर्को साताभित्र वितरण सुरु हुने दाबी गरेको छ ।

इन्टरनल रेभेन्यू सर्भिस (आइआरएस) का अनुसार १ हजार २ सय डलरको राहत रकम खर्चसमेत ७५ हजार अमेरिकी डलर आम्दानी गर्ने व्यक्ति, १ लाख १२ हजार ५ सय डलर आम्दानी गर्ने घर मुली (हेड अफ द हाउस होल्ड फाइलर्स) र १ लाख ५० हजार संयुक्त आम्दानी गर्ने दम्पतीले प्राप्त गर्नेछन् । त्यसभन्दा बढी रकम आम्दानी गर्नेहरूले आम्दानीको अनुपातका हिसाबले कम रकमको राहत पाउने छन् ।

आइआरएसका अनुसार खर्चसमेत कम्तीमा ९९ हजार अमेरिकी डलर आम्दानी गर्ने व्यक्ति, १ लाख ३६ हजार ५ सय डलर आम्दानी गर्ने घर मुली (हेड अफ द हाउस होल्ड फाइलर्स) र १ लाख ९८ हजार संयुक्त आम्दानी गर्ने दम्पती राहत रकमका लागि अयोग्य हुनेछन् ।

राहत रकम प्रति व्यक्ति अधिकतम १ हजार २ सय डलर हुनेछ । १६ वर्ष र सोभन्दा कम उमेरको बालबालिका भएका दम्पतीले प्रति बालबालिका ५ सय डलर रकम पाउने छन् ।

सन् २०१८ वा २०१९ मा कर तिरेका तथा सामाजिक सुरक्षा लगायतका विभिन्न बेनेफिट लिइरहेका मानिसहरूले राहत रकम पाउन केही गर्नु नपर्ने आइआरएसले जनाएको छ । तर, १६ वर्ष र त्यसभन्दा कम उमेरका बालबालिका भएका सोसल सेक्युरिटी लगायतका विभिन्न बेनिफिट लिइरहेका मानिसहरूले भने प्रति बालबालिका ५ सय डलरको राहत रकम पाउन अतिरिक्त कदम चाल्नुपर्ने आइआरसले जनाएको छ । त्यस्तै निम्न आय भएका र ट्याक्स फाइल गर्न नपर्ने अशक्तहरूले पनि राहत रकमका लागि अतिरिक्त कदम चाल्नुपर्ने आइआरएसले जनाएको छ । उनीहरूले चाल्नुपर्ने कदमका सम्बन्धमा छिट्टै जानकारी दिने आइआरएसले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ ।

राहत रकम अभिभावकले डिपेन्डेन्ड दाबी गरेका १७ वर्षका विद्यार्थीले पाउने छैनन् । त्यस्ता अभिभावकले ५ सय डलरको बालबालिकालाई प्रदान गरिने राहत पनि पाउने छैनन् । यस्तो राहतका लागि बालबालिकाको उमेर १६ वर्ष वा सोभन्दा मुनि हुनुपर्छ । त्यस्तै, डिपेन्डेन्डका रूपमा रहेका वृद्धवृद्धाले पनि राहत रकम पाउने छैनन् ।

युएसए टुडेले ग्रिन कार्ड, एच वानबी र एच टुए भिसा भएका आप्रवासीले मात्र राहत रकम पाउने दाबी गरेको छ । उसका अनुसार, नन रेजिडेन्ट एलियन, टेम्पोरेरी वर्कर र अवैध रूपमा रहेका आप्रवासीले राहत पाउने छैनन् ।

प्रतिक्रिया