कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ८ हजार नाघेको छ । अहिलेसम्म संक्रमणका कारण १ लाख ८ हजार ८ सय २७ जनाको ज्यान गएको छ । विश्वभर अहिलेसम्म १७ लाख ८० हजार ३ सय १४ जना संक्रमित भएका छन् भने ४ लाख ४ हजार ३१ जना उपचारपछि निको भएका छन्।
कोरोना संक्रमणका कारण सवैभन्दा बढी संयुक्त राज्य अमेरिकामा २० हजार ५ सय ७७ जनाको ज्यान गएको छ । त्यहाँ ५ लाख ३२ हजार ८ सय ७९ जनामा संक्रमण भेटिएको छ । इटालीमा १९ हजार ४ सय ६८ जनाको मृत्यु भएको छ भने १ लाख ५२ हजार २ सय ७१ जना संक्रमित भएका छन् । स्पेनमा १६ हजार ६ सय ६ जनाको ज्यान जाँदा १ लाख ६३ हजार २७ जनामा संक्रमण देखिएको छ ।
फ्रान्समा १३ हजार ८ सय ३२ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् भने १ लाख २९ हजार ६ सय ५४ जनामा संक्रमण फेला परेको छ । बेलायतमा ९ हजार ८ सय ७५ जनाको ज्यान गएको छ र ७८ हजार ९ सय ९१ जनामा संक्रमण देखिएको छ । इरानमा ४ हजार ३ सय ५७ र चीनमा ३ हजार ३ सय ३९ जनाले ज्यान गुमाएका छन्। जर्मनीमा २ हजार ८ सय ७१ र बेल्जियममा ३ हजार ३ सय ४६ जनाको ज्यान गएको छ।
कोरोना संक्रमणका कारण सार्क मुलुकमध्ये भारतमा सवैभन्दा बढी २ सय ८८ जनाको ज्यान गएको छ भने ८ हजार ४ सय ६६ जनामा संक्रमण देखिएको छ । पाकिस्तानमा ८६ जनाको ज्यान जाँदा ५ हजार ११ जनामा कोरोनाको संक्रमण भेटिएको छ । बंगलादेशमा ३० , अफगानिस्तानमा १८, श्रीलंकामा ७ जनाको ज्यान गएको छ । तर, माल्दिभ्स्मा १९, नेपालमा ९ र भुटानमा ५ जनामा भाईरसको संक्रमण देखिएको छ ।