अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३५ | Colorodo: 05:50

अमेरिकामा कोरोनाबाट संक्रमितको संख्या ५ लाख नाघ्यो, १८ हजारभन्दा बढीको मृत्यु

बिआरटीनेपाल २०७६ चैत २८ गते २१:४८ मा प्रकाशित

संसारमै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित रहेको अमेरिकामा १८ हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ । संक्रमितको संख्या ५ लाख नाघेको छ । पछिल्लो २४ घन्टाको बीचमा अमेरिकामा २ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् भने ३३ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् ।

यद्यपि, विज्ञहरुले अमेरिकामा कोरोना भाइरसको महामारीले स्थिर रुप लिएको जनाएका छन् । ह्वाइट हाउस कोभिड–१९ टास्क फोर्सका विज्ञहरुले अमेरिकामा कोरोना भाइरसको संक्रमण स्थिर हुन थालेको र अब केही सयमपछि ओरालो लाग्ने जानकारी दिएका हुन् ।

सरुवारोग विशेषज्ञ डा. एन्थोनी फाउचीले संक्रमण स्थिर देखिन थालेको र अब कम हुँदै जाने संकेत मिलेको बताउँदै कोरोना भाइरसको संक्रमण तथा यसबाट हुने मृत्यु कम हुँदै जाने बताउनुभएको छ । यद्यपि उहाँले सामाजिक दूरीसहितका रोकथामका उपायहरु भने जारी राख्नु पर्ने बताउनुभयो । डा. डेबोरा बक्सले महामारी स्थिर भएको संकेत गर्ने राम्रा सूचकहरु देखिएको बताउँदै अझै पनि संक्रमणको उच्च तहमा भने नपुगेको उल्लेख गर्नुभएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि पूर्वानुमान गरिएभन्दा कम मृत्यु हुने अपेक्षा रहेको बताउनुभएको छ । अमेरिकामा कोरोना भाइरसका कारण एक लाख मानिसको मृत्यु हुने अनुमान गरिएको थियो । अमेरिकामा सबैभन्दा बढी प्रभावित भएका न्यूयोर्क, न्यूजर्सी, सिकागो जस्ता शहरमा संक्रमण तथा मृत्यु हुनेको संख्या स्थिर हुन थालेको हो ।

प्रतिक्रिया