विश्व स्वास्थ्य संगठनका प्रमुख डा टेड्रोस अदानोम घेब्रेयेससले लकडाउनका उपायहरु चाँडै हटाउँदा घातक हुने चेतावनी दिनुभएको छ । जेनेभा भर्चुअल पत्रकार सम्मेलनमा बोल्दै उहाँले प्रतिबन्धहरु खुकुलो बनाउने रणनीतिबारे विभिन्न मुलुकहरुसंग छलफल भइरहे पनि यो छिटो हटाउन नहुनेमा जोड दिनुभयो ।
डब्ल्यूएचओ प्रमुख टेड्रोसले कोरोनाका कारण चर्को आर्थिक मार खेपिरहेका मुलुकहरुले पनि प्रतिबन्धहरु खुकुलो गर्नेबारे सतर्क हुनु पर्ने उल्लेख गर्नुभएको छ । केही यूरोपेली मुलुकहरुमा महामारीको गति केही घटेपनि अरु मुलुकमा तीब्र गतिमा फैलिएको भन्दै सचेत रहनु पर्नेमा उहाको जोड छ ।
पछिल्लो समय अफ्रिकाको ग्रामिण क्षेत्रमा महामारी फैलिरहेको छ । अर्कोतर्फ यूरोपमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुकहरु स्पेन र इटालीमा प्रतिबन्ध केही खुकुलो पारेपनि लकडाउन भने जारी छ । स्पेनमा केही निर्माण र उत्पादन क्षेत्रका कामदारलाई सोमबारबाट काममा फर्काउने तयारी गरिएको छ ।
तर सामाजिक दूरी कायमै राख्न सचेत गराइएको छ । स्पेनमा पछिल्लो १७ दिनमा कोरोनाका कारण दैनिक मृत्यु हुनेको संख्या ६ सयमा सिमित भएको छ । उता इटालीमा लकडाउनलाई मे ३ तारिखसम्म बढाइएको छ । तर गत मार्च १२ देखि बन्द केही व्यवसाय खोल्न भने अनुमति दिइएको छ ।