संयुक्त राज्य अमेरिकामा कोभिड( १९ (कोरोनाभाइरस) का कारण ज्यान गुमाउनेको संख्या २० हजार नाघेको छ । शनिबार मात्रै त्यहाँ १८ सय बढीको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोनाका कारण २० हजार ५७७ को मृत्यु भइसकेको छ । पछिल्लो केही दिनयता २ हजार हाराहारी मृत्यु हुँदै आएको अमेरिकामा शनिबार पनि १८ सय ३० जनाको ज्यान गएको वल्र्डाेमिटर्सको तथ्यांकले जनाएको छ ।
पछिल्लो केही दिनयता अमेरिकामा दैनिक ३० हजारभन्दा बढी नयाँ संक्रमित फेला पर्दै आएका छन् । शनिबार पनि एकै दिन ३० हजार ३ नयाँ बिरामी थपिएका छन् । यससँगै कोभिड १९ का कुल संक्रमित ५ लाख ३२ हजार ८सय ७९ पुगेको छ । ३० हजार ३५३ जना भने निको भइसकेका छन् । शुक्रबार मात्र अमेरिकामा हालसम्मकै सर्वाधिक २ हजार ३७ जनाको कोरोनाका कारणा मृत्यु भएको थियो । शुक्रबार ३३ हजार ४८३ जना नयाँ संक्रमित फेला परेका थिए ।
अमेरिकाको सबैभन्दा बढी प्रभावित न्यूयोर्क सहित ३ राज्यमा मात्रै कोरोनाबाट १२ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । यो समाचार तयार पार्दासम्म न्यूयोर्कमा मात्रै ८ हजार ६२७ जनाको मृत्यु भइसकेको छ । त्यहाँ शनिबार एकै दिन ७८३ जनाको मृत्यु भएको छ भने ८ हजार ७८६ नयाँ संक्रमित फेला परेका छन् । यससँग कुल संक्रमित संख्यामा न्यूयोर्क विश्वका अन्य देशभन्दा पनि अगाडि पुगेको छ । त्यहाँ हालसम्म १ लाख ८१ हजार १४४ जनामा संक्रमण फैलिसकेको छ ।
यसैगरी न्यूजर्सी राज्यमा मात्रै २ हजार १८३ जनाको मृत्यु भएको छ । त्यहाँ पनि मृतक संख्या बढ्दै गएको छ । शनिबार मात्र त्यहाँ कोरोनाबाट २५१ जनाको मृत्यु भएको छ भने ३ हजार ५६३ जना नयाँ संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमित ५८ हजार १५१ पुगेको छ ।
अर्काे बढी प्रभावित राज्य मिसिगनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ३९२ पुगेको छ । १११ जनाको मृत्यु पछिल्लो २४ घण्टामा मात्रै भएको हो । यसरी बढी प्रभावित तीन राज्यमा मात्रै कोरोनाबाट १२ हजार २०२ जनाले ज्यान गुमाइसकेका छन् ।