अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४१ | Colorodo: 00:56

अमेरिकामा चिनियाँ कामदारको अवस्था: कसरी भत्किँदैछ ‘अमेरिकी सपना’ ?

बिआरटीनेपाल २०७६ चैत २६ गते २३:०५ मा प्रकाशित

वासिङ्टन : अमेरिकामा बस्दै आएकी चिनियाँ नागरिक ताङ चेन गत महिना कम्पनी बन्द भएपछि धेरै रात सुत्न पनि सकिनन् । मुटुको धड्कन छिटो छिटो बढ्न थाल्यो । उनका अगाडि एउटै प्रश्न थियो, ‘के म अमेरिका बसिरहन सक्छु ?’ पूर्वी चीनको झेजिङ प्रान्तबाट अमेरिका पुगेकी ताङ २०१४ देखि काम गर्दै आएकी छन् । उनको ‘एचवान बी’ भिसा यस वर्षको अन्त्यमा सकिँदै छ । वासिंटनस्थित उनी सफ्टवेयर डेभलपरको रूपमा काम गर्ने कम्पनीले उनको ‘ग्रिन कार्ड’को लागि भिसा प्रक्रिया सुरु गरेको थियो । जसले गर्दा उनलाई अमेरिकामा स्थायी रूपमा बस्न र काम गर्न अनुमति मिल्थ्यो ।

३३ वर्षीय ताङ अमेरिकामा जीवन व्यवस्थित गर्न सकिनेमा ढुक्क छिन् । उनले अमेरिकामै अपार्टमेन्ट समेत खरिद गरिसकेकी छन् । तर यही मार्च १३ को दिन उनको लागि निरर्थक बन्यो । उनले आम्दानीको स्रोत मात्रै गुमाइनन् । उनले ‘भिसा स्टाटस’ समेत गुमाउनु पर्‍यो । अहिले आएर उनको कम्पनीले ग्रिन कार्डको लागि प्रक्रिया अघि नबढाउने भइसक्यो । अर्थात्, उनको स्थायी रूपमा बसोबासको सम्भावना पनि टुटेको छ । ‘एच वान बी’ भिसा लिने ताङ जस्तै अरू थुप्रै चिनियाँहरू अमेरिकामा यस्तै अवस्थामा पुगेका छन् । उनीहरूले जागिर गुमाएको ६० दिनमा आफ्नो ‘स्टाटस’ परिवर्तनका लागि आवेदन दिइसक्नु पर्छ । जस्तो कि, पर्यटक वा विद्यार्थी । अथवा भिसा प्रायोजन गरिदिने नयाँ रोजगारदाता पनि उनीहरूका लागि अर्को विकल्प हुन सक्छ ।

यदि उनीहरूले नयाँ काम पाएनन् वा स्टाटस परिवर्तन गर्न सकेनन् भने उनीहरूले अमेरिका छाड्नुपर्ने हुन्छ । नत्र अमेरिकामा उनीहरूको अवैध ‘ओभर स्टे’ हुनेछ । यदि यस्तो ‘ओभर स्टे’ १ सय ८० दिन भन्दा बढी बसे भने उनीहरू फेरि अमेरिका फर्कन अयोग्य हुन्छन् । तर हालको अवस्थामा अमेरिकामा रोजगारी पाउनु निकै कठिन छ । ताङले नयाँ काम खोज्ने समय वा स्टाटस बदल्ने समयमै कोरोना भाइरसको महामारी भइदियो । उनले जागिरका लागि अन्तर्वार्ता दिने वा नयाँ काम पाउने सम्भावना पनि पातलिन थाल्यो । त्यसो त, उनले चीन फर्कन राजीनामा पनि दिएकी थिइन् । तर अप्रिल महिनामा कुनै प्रत्यक्ष जहाजमा उनले सिट पाइनन् । यसैले पनि उनी चिन्तित बन्न थालिन् । पछिल्लो समय अमेरिकामा महामारीको प्रकोपले झनै डर थपिदिएको छ । धेरै देश हुँदै चीन फर्कँदा पनि संक्रमण सर्ने जोखिम हुन्छ ।

‘यदि म अहिले नै चीन फर्कन चाहेँ भने फ्लाइट टिकेट पाउन सक्दिनँ,’ उनले भनिन् । अन्ततः उनी हताश हुँदै युनिभर्सिटीमा आवेदन दिँदै छिन् । जसले गर्दा उनी विद्यार्थीको रूपमा वैध तरिकाले अमेरिका बस्न पाउनेछिन् । उता चीनले मार्चको अन्त्यदेखि चिनियाँ अध्यागमनले अन्तर्राष्ट्रिय उडान बन्द गराउन थाल्यो । अहिले चिनियाँ नागरिक सहित अमेरिका भित्रिने यात्रुको सङ्ख्या हरेक दिन ४ हजारमा झरेको छ । महामारीका कारण अमेरिकामा कति चिनियाँहरूले जागिर गुमाए भन्ने चाहिँ आधिकारिक तथ्याङ्क छैन । हरेक दिन बि च्याट लगायतका च्याटरुमहरु अनिश्चित जागिर र भिसा पक्का गर्ने चिन्ताले भरिएका हुन्छन् । ‘मैले अहिलेसम्म भिसा धारकहरूले यति धेरै जागिर गुमाएको कहिल्यै देखेको थिइनँ,’ न्यु योर्क अध्यागमन वकिल यीङ काओले बताइन् । काओका अधिकांश ग्राहक चिनियाँ हुन्छन् । काओका अनुसार अहिले २००८ को भन्दा खराब अवस्था उत्पन्न भएको छ ।

मार्चमा काओले अन्य अवस्था भन्दा दोब्बर जिज्ञासा र आवेदन ग्रहण गरेकी थिइन् । अर्की अध्यागमन अधिवक्ता त्सु यी पनि आफ्ना अधिकांश ग्राहकले यस्तै समस्या झेलेको बताउँछिन् । पछिल्लो सातामा मात्रै उनलाई यस्तै चिनियाँ नागरिकले अत्यधिक रूपमा फोन गरेको बताउँछिन् ।अमेरिकी तथ्याङ्क अनुसार मार्चमा १ करोड भन्दा धेरै अमेरिकीले बेरोजगार सुविधाका लागि आवेदन दिए । यसको मतलब पछिल्लो समय अमेरिकी नागरिक नै बेरोजगारीको समस्यामा गुज्रिन थालेका छन् ।

अमेरिकी सपना ?
न्युयोर्कमा हालै जागिर गुमाएका वाल्टन वांग पनि २०१५ मा अमेरिका आएका थिए । अमेरिकीमा आएका उनी सधैँ अमेरिकामै बस्न चाहन्थे । यो उनको सपना नै थियो । ‘एलजीबीटीआई’ समुदायका उनी चीनमा भन्दा अमेरिकामा स्वतन्त्र हुने भएकाले पनि यहाँ बसिरहन चाहन्थे । तर अचेल उनको मनस्थिति बदलिन थालेको छ । खास गरी अमेरिकी सरकारले हालको सङ्कट समाधान गर्ने तरिका देखेर उनले यहाँ बसिरहने सोच बदलिसके । यसमाथि अमेरिकामा एसियालीलाई हेरिने दृष्टिकोण तथा जातीय विभेद देखेर उनी सोच बदलेको बताउँछन् ।

‘मलाई थाहा थिएन, म पनि यहाँ घृणाको सिकार बन्नेछु भनेर,’ वाल्टनले भने । ‘हालै म सोच्दै छु कि, म एसियाली हुनु र समलिङ्गी हुनु कुन चाहिँ महत्त्वपूर्ण छ ?,’ अन्ततः उनले चीन फर्कने सोच बनाइसके । ‘म आफ्नो चिनियाँ पहिचान छान्दै छु,’ उनले भने । तर चीन फर्कन पनि तत्काल कुनै उपाय छैन उनीसँग । ‘जाने कतै बाटो छैन,’ उनले दुखेसो पोखे । अन्नपूर्ण पोस्टबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू