रुसमा पनि कोरोना भाइरसका बिरामी बढ्दै गएका छन् । यो समाचार तयार पार्दासम्म त्यहाँ कोरोना संक्रमितको संख्या ८ हजार ६७२ पुगेको छ । जसमा १ हजार १७५ जना पछिल्लो २४ घण्टामा मात्रै थपिएका हुन् । यसैगरी रुसमा हालसम्म ६३ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । ५ जनाको मृत्य पछिल्लो एक दिनमा मात्र भएको बताईएको छ । रूसमा संक्रमितमध्ये ५८० जना भने निको भइसकेका छन् ।
यसैबीच, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी केही हप्ता मुलुकका लागि अझ निकै कठिन हुने चेतावनी दिनुभएको छ । बुधबार भिडियो कन्फ्रेसमार्फत बसेको त्यहाँको क्याबिनेट बैठकलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताएको सिएनएनले लेखेको छ ।
कोरोनाको सामना गर्न सबै तयार रहन र चिकित्सकहरुले सिफारिस गरेका उपायहरुको पूर्ण पालना गर्दै क्वारेन्टाइनमा बस्न सबैलाई उहाँले आग्रह गर्नुभयो । साथै सरकारका नीतिहरुको पालना गर्न समेत पुटिनले सचेत गराउनुभएको छ ।