कोरोना भाइरसविरुद्धको खोपको परीक्षण अफ्रिकामा हुने सक्ने बताएका दुई फ्रान्सेली डाक्टरको तीव्र आलोचना भइरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरसविरुद्धको खोपको परीक्षण अफ्रिका गर्नु पर्ने बताएका फ्रान्सेली डाक्टरको टिप्पणी रंगभेदी रहेको भन्दै निन्दा गरेको हो ।
डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले भन्नुभएको छ , ‘अफ्रिका कुनै पनि हालतमा कुनै पनि खोपको परीक्षण क्षेत्र बन्नु हुँदैन र बन्ने छैन ।’ टेलिभिजन डिबेटको क्रममा दुई फ्रान्सेली डाक्टरले खोपको परीक्षण अफ्रिकामा गर्नु पर्ने बताएपछि त्यसको चौतर्फी आलोचना भइरहेको छ ।
ती डाक्टरले अफ्रिकनलाई ‘मानव सुंगुर’ रुपमा चित्रित गरेको आरोप छ। दुई मध्ये एक डाक्टरले आलोचना बढ्दै गएपछि माफी मागेका छन् । डब्लुएचओको कोरोना भाइरस ब्रिफिङ्गको क्रममा महानिर्देशक डा. गेब्रेयेसोसलाई पत्रकारले फ्रान्सेली डाक्टरको टिप्पणीबारे सोधेका थिए ।
त्यसपछि आक्रोशित भएका महानिदेर्शकले फ्रान्सेली डाक्टरको टिप्पणी ‘उपनिवेशयुक्त मानसिकता’ को ह्याङ्ओभर रहेको टिप्पणी गर्नुभयो । उनले भन्नुभयो, ‘२१ औँ शताब्दीमा आएर पनि यस्तो टिप्पणी हुनु अपमान र भयावह हो । त्यसमाथि वैज्ञानिकहरुबाटै यस्तो कुरा सुन्नु कुनै पनि हालतमा स्वीकार्य हुँदैन । हामी यसको सम्भव भएसम्मको गम्भीर निन्दा गर्छौँ, तर यो आश्वत पार्न चाहन्छौँ कि कुनै पनि हालतमा अफ्रिकामा खोपको परीक्षण हुने छैन ।’
फ्रान्सेली टेलिभिजन एससिआईको डिबेटको क्रममा इनसर्म हेल्थ रिसर्च ग्रुपका अनुसन्धान प्रमुख कमिल लोथले खोपको परीक्षण युरोप वा अस्ट्रेलियामा गर्नु पर्ने बताउनुभएको थियो । तर त्यसको प्रतिवाद गर्दै पेरिको कोचिन हस्पिटलका आइसियू प्रमुख डा. जेन–पल मिराले अफ्रिकामा परीक्षण गर्नु उपयुक्त हुने बताउनुभयो । त्यसपछि लोथले पनि उहाँको तर्कमा सहमति जनाउँदै त्यसबारे सोचिरहेको बताउनुभएको थियो ।