अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३९ | Colorodo: 03:54

बेलायती प्रधानमन्त्री जोन्सन आइसियूमा, स्वास्थ्य अवस्था ‘गम्भीर’

बिआरटीनेपाल २०७६ चैत २४ गते २२:११ मा प्रकाशित

कोरोना भाइरसबाट संक्रमित भएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई सघन उपचार कक्ष (आइसियू) मा सारिएको छ । कोरोना भाइरसका लक्षणहरु थप सघन बन्दै गएको र स्वास्थ्य अवस्था गम्भीर देखिएपछि प्रधानमन्त्री जोन्सनलाई आइसियूमा सारिएको उहाँको कार्यालयले जनाएको हो ।

जोन्सनको मेडिकल टिमको सल्लाहमा उहाँलाई आइसियूमा सारिएको प्रवक्ताले बताएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । आफ्नो अनुपस्थितिमा सरकारका अत्यावश्यक कामहरु गर्नका लागि प्रधानमन्त्री जोन्सनले विदेश मन्त्री डोमिनक राबलाई जिम्मेवारी दिनुभएको बताईएको छ ।

५५ वर्षका जोन्सनलाई आइतबार बेलुका लण्डनको अस्पतालमा भर्ना गरिएको थियो । कोरोना भाइरसका लक्षणहरु कम नभएपछि उहाँलाई अस्पताल लगिएको थियो । तर स्वास्थ्य अवस्था थप कमजोर बनेपछि आइसियूमा सारिएको हो ।

उनलाई भेन्टिलेटरमा भने राखिएको छैन । प्रधानमन्त्रीको कार्यालयले भनेको छ, ‘उहाँलाई लण्डनको सेन्ट थोमस हस्पिटलको डाक्टरको निगरानीमा रोखिएको छ । उहाँको अवस्था थप गम्भीर देखिएपछि मेडिकल टिमको सल्लाहमा आइसियूमा सारिएको हो ।’ लेबर पार्टीका नेता सर केएर स्टार्मरले प्रधानमन्त्री जोन्सनको स्वाथ्यलाभको कामना गर्नुभएको छ ।

यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि जोन्सनको स्वाथ्यलाभको कामना गर्नुभएको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । मार्च २७ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री जोन्सन सेल्फ आइसोलेसनमा रहनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू