चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसका कारण विश्व्यापी रुपमा मृत्यु हुनेको संख्या तीव्र रुपमा बढिरहेको छ । विश्वभर ९ लाख ३५ हजार भन्दा बढी प्रभावितमध्ये ४९ हजारभन्दा बढीको मृत्यु भएको छ भने करिव २ लाख ३ हजार मानिस निको भएका छन् । कोरोना संक्रमणबाट यो समाचार तयार पार्दासम्म ४९ हजार १ सय ५४ जनाको ज्यान गएको छ ।
पछिल्लो समय अमेरिका, युरोप, मध्यपूर्व र एशियाली राष्ट्रहरुमा तीव्र रुपमा फैलिएको कोरोनाका कारण ती राष्ट्रहरुमा मृत्यु हुनेको संख्या बढीरहेको छ । इटालीमा १३ हजार १ सय ५५ को मृत्यु भइसकेको छ भने संक्रमितको संख्या १ लाख १० हजार ५ सय भन्दा बढी रहेको बताइएको छ ।
यस्तै बेलायतमा कोरोना भाइरसका कारण २४ घण्टामा ५६९ जनाको मृत्यु भएको छ । बेलायतको स्वास्थ्य सेवाका अनुसार उपचारका क्रममा अस्पतालमा मृत्यु भएकाहरुको संख्या २ हजार ९ सय २१ पुगेको छ । त्यसैगरी स्पेनमा १० हजार ३ जनाकोे मृत्यु भएको छ ।
संयुक्त राज्य अमेरिकामा ५ हजार १ सय १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने संक्रमितहरुको संख्या उच्च रुपमा वृद्धि भइरहेको बताइएको छ । अमेरिकामा २ लाख १५ हजार ३ सय ५७ जना संक्रमित भएको बताइएको छ । यसैबीच संयुक्त राष्ट्रसंघले दोस्रो विश्वयुद्धपछि विश्वले सामना गर्नुपरेको खतरनाक समय भएको टिप्पणी गरेको छ ।