नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले कार्यकर्ताका लागि बिशेष परिपत्र गर्नुभएको छ । सात बुँदे विशेष परिपत्रमा कोरोना भाइरसको प्रकोपका कारण पार्टी तथा पार्टी निकटका जनवर्गीय संगठनका तर्फबाट बैठक, भेला, सदस्यता नवीकरणलगायत सबै प्रकारका कार्यक्रम स्थगित गर्ने उल्लेख छ ।
लक डाउनलगायतका सम्पूर्ण निर्णय, आह्वान र अपिललाई आफूले पूर्णरुपमा पालना गर्ने र पालना गर्नका लागि आमजनसमुदायमा सन्देश प्रवाह गर्ने,संक्रमणबाट जोगिन आफूले नियमित रुपमा साबुन पानीले हात धुने वा गुणस्तरीय सेनिटाइजरले हात सफा गर्ने, मास्क प्रयोग गर्ने, भीडभाडमा नजाने, खोकी वा हाछ्युँ लागेमा कुईना वा टिस्यूपेपरले मुख ढाक्ने, अन्य व्यक्तिसँग कम्तीमा तीन फिटको दुरीमा रहनेलगायतका सतर्कताका तरिका अपनाउने लगायतका बिषय परिपत्रमा उल्लेख छन् ।
परिवार, छरछिमेकी तथा आमजनसमुदायलाई पनि तदनुरुप नै सतर्कता अपनाउन प्रेरित गर्ने, सघाउने, सरकारी निकाय, प्रदेश सरकार र स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रयोगशाला, अस्थायी उपचार केन्द्र, क्वारेन्टाइन लगायतका पूर्वाधार निर्माण गर्न र तिनका लागि आवश्यक सामाग्री तथा स्वास्थ्य उपकरण जुटाउन सहयोग गर्ने लगायतका निर्दशन पार्टीका कार्यकर्तालाई दिइएको छ ।
