पर्सा राष्ट्रिय निकुञ्जमा तस्कर र निकुञ्ज सुरक्षार्थ खटिएका सुरक्षाकर्मीबीच भएको दोहोरो गोली हानाहानमा एक जनाको मृत्यु भएको छ । घटनामा नेपाली सेनाका एक जमदार घाइते भएका छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार सुरक्षाकर्मीले एक जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा मकवानपुरका मोहनसिंह दोङ्ग छन् । मृतकको अहिलेसम्म पहिचान हुन नसकेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी, उपसचिव विष्णु श्रेष्ठले जानकारी दिनुभयो ।
पर्सा वन्यजन्तु राष्ट्रिय निकुञ्जको कोर एरियामा आज विहान ९ बजे तस्कर र सुरक्षाकर्मीबीच भिडन्त भएको हो। सुरक्षाकर्मीले दुई थान बन्दुक समेत बरामद गरेका छन् । निकुञ्जको कोर एरियामा बन्दुकको आवाज आएको सुनेर त्यता गएका सुरक्षाकर्मी माथि तस्करले आक्रमण को श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार तस्करहरु ११ जना थिए ।
बन्दको मौका छोपेर वन्यजन्तुको चोरी सिकारी हुनसक्ने सम्भावनालाई ध्यान राखेर गस्तीलाई बाक्लो बनाइएको छ ।
