अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२६ | Colorodo: 13:41

कोरोना भाइरस – ८ वटा देशमा चीनमा भन्दा धेरै बिरामी

बिआरटीनेपाल २०७६ चैत ९ गते ८:११ मा प्रकाशित

विश्वका विभिन्न आठ देशमा चीनमा भन्दा धेरै कोरोना भाइरस (कोभिड–१९) का बिरामी रहेका छन् । चीनमा नयाँ सङ्क्रमण घटेको र उपचारपछि निको हुने क्रम बढेको छ भने अरु देशमा बिरामी थपिइरहेका छन् ।

अहिले सबैभन्दा धेरै इटलीमा ४२ हजार ६ सय ८१ जना बिरामीले उपचार गराइरहेका छन् । इटलीमा ५३ हजार पाँच सय ७८ जनामा सङ्क्रमण भएकोमा चार हजार आठ सय २५ जनाको मृत्यु भएको छ भने ६ हजार ७२ जना निको भएका हुन् ।

यस्तै अमेरिकामा २६ हजार तीन ३३ जना बिरामीले उपचार गराइरहेका छन् । अमेरिकामा २६ हजार आठ सय ५९ जना सङ्क्रमित भएकोमा तीन सय ४८ जनाको ज्यान गएको छ भने एक सय ७८ जना निको भएका छन् ।

जर्मनीमा २२ हजार ७१ जना, स्पेनमा २१ हजार ९ सय ९३ जना, इरानमा ११ हजार चार सय १९ जना, फ्रान्समा १२ हजार तीन सय १० जना, स्विजरल्याण्डमा ६ हजार ६ सय ५२ जना र दक्षिण कोरियामा पाँच हजार आठ सय ८४ जना बिरामी उपचाररत छन् ।

चीनमा पाँच हजार तीन सय ५३ जना उपचार गराइरहेका छन् । चीनमा ८१ हजार ५४ जनामा सङ्क्रमण भएकोमा ७२ हजार चार सय ४० जना निको भएका छन् भने तीन हजार दुई सय ६१ जनाको ज्यान गएको छ ।

विश्वको एक सय ८८ देश र एउटा अन्तर्राष्ट्रिय पानीजहाजमा फैलिएको कोरोना सङ्क्रमणबाट आइतबार बिहान १० बजेसम्ममा तीन लाख आठ हजार दुई सय २७ जनामा सङ्क्रमण भएको छ । जसमध्ये ९५ हजार आठ सय २६ जना उपचारपछि निको भएका छन् भने एक लाख ९९ हजार तीन सय ३७ जना उपचार गराइरहेका छन् । १३ हजार ६४ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्ययमले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू