अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३२ | Colorodo: 13:47

‘युवाहरूमा पनि ‘कोरोना’को जोखिम’, विश्वभर ११ हजार ४१७ जनाको मृत्यु, भारतमा २७५ जना संक्रमित

बिआरटीनेपाल २०७६ चैत ८ गते ८:१२ मा प्रकाशित

विश्व स्वास्थ्य संगठनले युवाहरूमा पनि ‘कोरोना’को जोखिम रहेको भन्दै वृद्ध र बढी खतरामा रहेका मानिसहरूसँग भेटघाट र कुराकानी नगर्न चेतावनी दिएको छ । कोरोनाभाइरसबाट युवाहरूलाई जोखिम कम भएको विवरणबीच धेरै युवाहरूले स्वास्थ्य सुझाव पालना नगरेको समाचार आएपछि ‘डब्ल्यूएचओ’ले यस्तो चेतावनी दिएको हो ।

डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले युवाहरूको व्यवहार अन्य व्यक्तिको लागि जीवन र मरणबीचको फरक हुनसक्ने बताउनुभयो । विश्वभर ‘कोभिड–१९’ का कारण ११ हजार ४१७ जनाको मृत्यु भएको छ । झन्डै दुई लाख ७६ हजारमा कोरोनाभाइरस संक्रमणको पुष्टि भइसकेको छ । ९१ हजार ९५४ जना उपचारपछि घर फर्किएका छन् ।

कोरोनाभाइरस संक्रमण चीनबाट सन् २०१९ को डिसेम्बरमा सुरू भएपनि अहिले युरोप यसको केन्द्रविन्दु बनेको छ । सबैभन्दा धेरै मानिसको मृत्यु इटालीमा गएको छ । जहाँ चार हजार ३२ जनाको मृत्यु भइसकेको छ । बुढ्यौली जनसंख्या बढी रहेको इटालीमा दैनिक मृत्युदर निकै कहालीलाग्दो अवस्थामा रहेको छ ।हाल ३७ हजार ८६० जना संक्रक्रमित रहेको इटालीमा पाँच हजार १२९ व्यक्ति उपचारपछि घर फर्किएका छन् ।

मध्यपूर्वका राष्ट्रहरुमध्ये इरानमा कोरोनाभाइरसको संक्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । त्यहाँ कोरोनाकै कारण एक हजार ४३३ व्यक्तिको मृत्यु भइसकेको छ भने ११ हजार ४६६ जना संक्रक्रमित छन् । ६ हजार ७४५ जना उपचारपछि घर फर्किएका छन् ।

स्पेनमा कोरोनाभाइरसको संक्रमणका कारण एक हजार ९३ व्यक्तिको मृत्यु भएको छ । १८ हजार ८९० जना संक्रक्रमित छन् । एक हजार ५८८ व्यक्ति उपचारपछि घर फर्किएका छन् । जर्मनीमा ६८ जनाको मृत्यु भएको छ भने १९ हजार ६०० जना संक्रमित छन् । अमेरिकामा २७५ जनाको मृत्यु भएको छ भने १९ हजार ३५२ जना संक्रमित छन् । फ्रान्समा ४५० जनाको मृत्यु भएको छ । १० हजार ५७५ जना संक्रमित छन् ।

दक्षिण कोरियामा कोरोनाका कारण १०२ जनाको मृत्यु भएको छ भने ६ हजार ८५ जना संक्रमित छन् । स्वीट्जरल्यान्डमा ५६ जना, बेलायतमा १७७ जना, नेदरल्यान्ड्समा १०६ जना, बेल्जियममा ३७ जना र जापानमा ३५ जनाको मृत्यु भएको छ ।

भारतमा हालसम्म कम्तीमा २७५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । पाँचजनाको मृत्यु भइसकेको भारतमा मोदी सरकारले आइतबार एक दिन ‘जनता कर्फ्यु’ लागू गर्न र घरबाहिर कोही पनि ननिस्कन आह्वान गरेको छ । दक्षिण एसियाली मुलुकहरु श्रीलंकामा ७३, अफगानिस्तानमा २४, बंगलादेशमा २०, माल्दिभ्समा १३ र भुटानमा दुईजना संक्रमित देखिएका छन् ।

नेपालमा भने हालसम्म एक व्यक्तिमा कोरोना संक्रमणको आशंका गरिएपनि उनी उपचारपछि घर फर्किसकेका छन् र नयाँ संक्रमित व्यक्ति भेटिएका छैनन् । कोरोनाको संक्रमण हालसम्म १७६ भन्दा बढी मुलुकमा देखा परिसकेको छ ।

कोरोनाबाट चीनमा तीन हजार २५५ जनाको मृत्यु भएको छ । चीनले अपनाएको उच्चतम् सतर्कता, राजधानी वुहानसहित प्रान्तभर आवतजावतमा गरिएको प्रतिबन्ध, तत्काल उपचारसमेतका आपत्कालीन व्यवस्थाले संक्रमित व्यक्तिको मृत्युदर कम रहेको मानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू