भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड १९) को संक्रमणको महामारी रोक्न आइतबारदेखि जनता कर्फ्यु लगाउने घोषणा गर्नुभएको छ । भारतीय नागरिकलाई महामारीबाट जोगाउन यस्तो कदम चाल्नुपरेको उहाँले स्पष्ट पार्नुभएको छ ।
प्रधानमन्त्री मोदीले बिहीबार देशवासीको नाममा सम्बोधन गर्दै देशवासीलाई आफैं अलग्गै घरमा बस्न आह्वान पनि गर्नुभएको छ । कर्फ्यु आगामी आइतबारदेखि बिहान ७ देखि राति ९ बजे सम्मका लागि हुनेछ ।
सम्बोधनको क्रममा मोदीले भन्नुभयो, “घरबाटै गर्न सकिने काम जेसुकै गर्नुहोला, हामीले आफू संक्रमित हुनबाट जोगिन संकल्प गर्नुपर्छ ।” भारतमा १८४ जना संक्रमित हुनुका साथै चारजनाको मृत्यु भइसकेको छ ।
थप क्षति नहोस भनेर सरकारले कर्फ्यु लागू गरेको हो । प्रधानमन्त्रीले सम्बोधनका क्रममा पहिले झैं बजारमा जाने वा घुम्ने काम नगर्न पनि आग्रह समेत गर्नुभएको छ ।