अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३१ | Colorodo: 05:46

अत्यावश्यक बाहेक बाहिर हिँडडुलमा रोक

बिआरटीनेपाल २०७६ चैत ५ गते २३:२२ मा प्रकाशित

काठमाडौँ,  कोरोना भाइरस सङ्क्रमणको उच्च सतर्कता अपनाउन सरकारले अत्यावश्यक कामबाहेक हिँडडुलमा रोक लगाएको छ। वैशाख १८ गतेसम्मलाई भेला र भिडभाडमा निरुत्साह गरिएको हो। उपप्रधान एवं रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिको बुधवारको बैठकले मुलुकभरका सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेल स्थल, जिम हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल, डान्स बार र क्लब बन्द गर्ने निर्णय गरेको छ।

यसको अनुगमन गृह, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्नेछन्। साथै प्रदेश सरकार र स्थानीय तहले पनि अनुगमन गर्नेछन्। बैठकले सांस्कृतिक एवम् सामाजिक गतिविधिसँग सम्बन्धित भोजभतेर नगर्न आग्रह गर्दै मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको छ।

यस्तै सार्वजनिक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न नगराउन यातायात व्यवसायीलाई अनुरोध गरिएको छ। नागरिकलाई भिडभाड गरी यात्रा नगर्न अनुरोध गरिएको छ। यसको अनुगमन गृह र संस्कृति मन्त्रालयले गर्नेछन्। बढी जमघट हुने सार्वजनिक महत्त्वका स्थलहरू स्थानीय तह (महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका) ले दैनिक रूपमा निश्चित समयको अन्तरालमा सरसफाइ एवं डिसइन्फेक्सन गर्ने भएका छन्। यसको अनुगमन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश सरकार र स्थानीय प्रशासनले गर्नेछन् ।- अन्नपूर्णबाट

?

प्रतिक्रिया