अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०४ | Colorodo: 08:19

अमेरिकामा कोरोना भाइरसको प्रकोप भयावह, २२ लाखसम्म मानिसको मृत्यु हुनसक्ने प्रक्षेपण

बिआरटीनेपाल २०७६ चैत ५ गते ९:२३ मा प्रकाशित

विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९)का कारण अमेरिकामा मात्रै २२ लाखसम्म मानिसको मृत्यु हुनसक्ने चेतावनी अनुसन्धानकर्ताहरुले दिएका छन् । बेलायती अनुसन्धानकर्ताहरूलाई उधृत गर्दै अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सको अनलाइन संस्करणले जनाएअनुसार सरकार र नागरिकले कोरोना भाइरसविरूद्ध लड्न बलियो सतर्कता अपनाएनन् भने २२ लाखसम्म अमेरिकी नागरिकको मृत्यु हुन सक्ने छ ।

चीनको वुहानबाट तीब्र गतिमा विश्वभर यात्रारत कोरोना भाइरसको संक्रमण अमेरिकाका ५० वटै राज्यमा फैलिएको छ । बेलायती अनुसन्धानकर्ताको चेतावनीलगत्तै अमेरिकाले मानिसहरुलाई सार्वजनिक स्थलमा जमघटमा थप कडाइ गरेको छ । राष्ट्रपति कार्यालय ह्वाइट हाउसले दश जनाभन्दा बढीलाई एक ठाउँमा जमघट नहुन निर्देशन दिएको न्यूयोर्क टाइम्सले जनाएको हो ।

अमेरिकन सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) कै अध्ययनमा पनि अमेरिकामा कम्तिमा २ देखि १७ लाखसम्म मानिस मर्न सक्ने प्रक्षेपण गरिएको समाचारमा दावी गरिएको छ । नेब्रास्का विश्वविद्यालयको अध्ययनमा त ४ लाख ८० हजारसम्म अमेरिकी नागरिकको यसैबाट मृत्यु हुन सक्ने जनाइएको छ ।

आउने महिनामा झनै तीब्र बन्न सक्ने अनुमान गरिएको भाइरसको संक्रमण जुन मध्यबाट भने कमी आउने अनुसन्धाकर्ताहरुको दावी छ । कोरोनाविरूद्ध भ्याक्सिनको विकास गर्न संसारभर प्रयत्न भइरहे पनि अमेरिकाको सियाटल शहरको मानिसमा भने यसै साता पहिलो पटक त्यस्तो भ्याक्सिनको परीक्षण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू