अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२१ | Colorodo: 06:36

कोरोनाबाट ज्यान गुमाउने संख्या ५५ सय नाघ्यो, संक्रमित डेढ लाख नजिक

बिआरटीनेपाल २०७६ चैत १ गते ८:३५ मा प्रकाशित

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५५ सय नाघेको छ। यो समाचार तयार पार्दा शनिबार साँझसम्म विश्वभर ५ हजार ५ सय ४७ जनाले कोरोनाको संक्रमणबाट ज्यान गुमाएका छन्। चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमण यतिबेला विश्वभर १४९ देशमा फैलिएको छ। यसबाट करिब डेढ लाख मानिसहरु संक्रमित भएको पुष्टि भएको छ। हालसम्म १ लाख ४८ हजार ९ सय ६ जनामा कोरोनाको संक्रमण देखिएको छ।

चीन कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुक हो। चीनमा अहिलेसम्म ८० हजार भन्दा बढीमा संक्रमण देखिएको छ, जसमध्ये ३ हजार १ सय ८९ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाइसकेका छन्। चीनमा पछिल्ला केही दिनदेखि कोरोनाको संक्रमण नियन्त्रणतर्फ उन्मुख भएको देखिएको छ। कोरोनाबाट ज्यान गुमाउने र नयाँ संक्रमित हुनेहरुको संख्या उल्लेख्य मात्रामा घटेको पाइएको छ।

केही दिनअघि चीनका राष्ट्रपति सी जिनफिङ कोरोनाको उद्गमथलो वुहानको भ्रमणमा निस्किएका थिए। यससँग चीनले कोरोना भाइरसको महामारीबाट मुक्त भएको घोषण गरिसकेको छ। चीनपछि कोरोनाको सबैभन्दा बढी प्रभाव युरोपेली मुलुक इटालीमा देखिएको छ। शनिबार साँझसम्म इटालीमा १७ हजार ६ सय ६० जनामा कोरोनाको संक्रमण भएको पुष्टी भएको छ भने १ हजार २ सय ६६ जनाले ज्यान गुमाएका छन्।

यस्तै इरानमा पनि कोरोनाको संक्रमण उच्च देखिएको छ। इरानमा कोरोनाको संक्रमणबाट ६ सय ११ जनाको मृत्यु भएको छ भने १२ हजार ७ सय २९ जनामा संक्रमण देखिएको छ। यस्तै स्पेनमा १३६, दक्षिण कोरियामा ७२, फ्रान्समा ७९, अमेरिकामा ५०, स्वीट्जरल्याण्डमा १३ र जर्मनीमा ८ जनाका कोरोनाको संक्रमणबाट मृत्यु भएको छ।नेपालमा हालसम्म एक जनामा मात्रै कोरोनाको पुष्टि भएपनि छिमेकी राष्ट्र भारतमा भने कोरोना संक्रमितको संख्या ८४ पुगिसकेको छ भने २ जनाले ज्यान गुमाइसकेका छन्।

कोरोनाको फैलावट भयावह रुपमा देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी महामारीको घोषणा गरिसकेको छ। यसका साथै डब्लुएचओले अबको कोरोनाको महामारीको केन्द्र युरोप भएको चेतावनीसमेत दिएको छ। २ हजार ३ सय २९ जना कोरोना संक्रमित भेटिएपछि अमेरिकाले पनि राष्ट्रिय आपतकालको घोषणा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू