विराटनगर, २९ फागुन । प्रदेश नं १ को सरकारले नोभेल कोरोना भाइरस(कोभिड–१९)को रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्था सम्बन्धी कार्य योजना बिहीबार यहाँ सार्वजनिक गरेको छ।
मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा आज बसेको सर्वदलीय बैठकपछि कार्य योजना सार्वजनिक गरिएको हो ।
कार्य योजनामा नोभल कोरोना भाइरस भनेको के हो, यसका मुख्यलक्षणहरु, यसबाट कसरी आफू र अरूलाई बचाउने, यसको सङ्क्रमणबाट बच्न अपनाउनु पर्ने पूर्व सावधानी, प्रदेशको वस्तुस्थिति, वस्तुस्थितिको विश्लेषण, सम्भावित चनौतीहरु र रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थाको उल्लेख गरिएको छ ।
कोरोना भाइरस संक्रमण फैलन नदिन प्रदेश सरकारले गरेको उच्च सावधानी, सीमा क्षेत्रमा गरिएको आवश्यक अनुगमन, उच्च सतर्कता, यसबाट बच्न अपनाउनुपर्ने सावधानी तथा सम्भावित चुनौतीका विषयहरूलाई कार्य योजनामा समेटिएको छ ।
प्रदेश नं १ सरकारले कोरोना भाइरस सङ्क्रमण यस क्षेत्रमा भित्रिन नदिनका लागि पाँच वटा सीमानाकाहरु विराटनगरको जोगवनी, भद्रपुर, कांकरभिट्टा, पशुपति नगर, भन्टावारिमा जगेडा चालक र मेडिकल टोली खटाउनका साथै प्रदेश तहमा १० वटा जिल्लामा दुई–दुुईवटा गरी २० वटा एम्बुलेन्स तयारी अवस्थामा राख्ने, सुनसरीको श्रीलङ्का टप्पु र मोरङको टाँडीमा क्वारेन्टाइन स्थापना गर्ने, पहिलो चरणमा पाँच सय भन्दा ज्यादा चिकित्सकको टोली तयारी अवस्थामा राख्नुका साथै नेपाल प्रहरी तथा नेपाली सेनालाई तयारी अवस्थामा राख्ने कार्य योजनामा उल्लेख गरिएको छ ।
यसै गरी सङ्क्रमणको आँसङका भएमा उनीहरूको पहिचानका लागी अन्तर्राष्ट्रिय तथा प्रदेश स्तरका नाकाहरू तथा विमानस्थलमा स्वास्थ्य चेकजाच डेस्क स्थापना गर्न थालिएको तथा प्रदेश स्तरमा स्वास्थ्य र सो रोग सम्बन्धमा जनचेतना अभियान शुुरु गरिएको कार्य योजनामा जनाइएको छ ।
सो अवसरमा मुख्यमन्त्री शेरधन राईले कोरोना भाइरस संक्रमण हुन नदिन प्रदेश सरकारले एक्सन प्लान बनाएर अघि बढेकाले त्यसमा सहयोग गर्न दलहरूलाई आग्रह गरे ।
उनले प्रदेश न १ मा अहिलेसम्म कोरोनाको बिरामी फेला नपरेको र प्रदेश नाकासँग जोडिएको भारतीय गाउँ बस्तीमा समेत रोगको सङ्क्रमण नभएको भन्दै यसबाट प्रदेश सुरक्षित रहेको छ भने ।
मुख्यमन्त्री राईले कोरोना भाइरसको नाममा काला जारी गर्न खोज्नेलाई कारबाही गरिने भन्दै व्यापारीहरूलाई आवश्यक सामाग्रीको कृत्रिम अभाव सिर्जना नगर्न आग्रह गरे ।
सामाजिक विकास मन्त्री जीवन घिमिरेले सीमा क्षेत्रमा रेलबाट आउने यात्रुलाई ध्यान केन्द्रित गरेको भन्दै भाइरस सङ्क्रमण हुन नदिन प्रदेश सरकारले आवश्यक उच्च सतर्कता अपनाएको जानकारी दिए ।
प्रदेश सदस्य जयराम यादवले प्रदेश सरकारले ल्याएको कार्य योजनाको प्रशंसा गर्दै आवश्यक भोजभतेर, सभा सम्मेलनमा उच्च सतर्कता अपनाउन आउनु पर्नेमा जोड दिँदै सरकारले ल्याएको कार्य योजनालाई सञ्चारमाध्यमले विशेष प्राथमिक दिनु आग्रह गरे । दैनिक नेपालबाट