अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:११ | Colorodo: 05:26

कोरोना रोकथामका लागि तीनै तहका सरकारबीच विशेष सहकार्य – स्वास्थ्यमन्त्री ढकाल

बिआरटीनेपाल २०७६ फागुन २३ गते ८:०७ मा प्रकाशित

सरकारले कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य गरी आवश्यक व्यवस्था मिलाउने काम भएको बताएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा कांग्रेस सांसद गगनकुमार थापाले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदहरुले राखेको जिज्ञासाको जवाफ दिँदै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले संक्रमणबाट जोगिन सरकारले आवश्यक तयारी गरिरहेको जानकारी गराउनुभयो ।

मन्त्री ढकालले छिमेकी मुलुकमा पनि संक्रमण देखिएकाले हिजोको सर्तकताले मात्रै नपुग्ने भएकाले विशेष तयारीका साथ तीनै सरकारबीच समन्वय गरी विभिन्न स्थानमा चेकजाँचको व्यवस्था मिलाउने काम भइरहेको बताउनुभएको हो । कोरोना भाइरस प्रवेश गर्न नदिने, सावधानी अपनाउने, मध्यम खालको स्थितिमा कसरी जोगिने र अति जोखिममा पुग्दाको सम्भावित अवस्थाबारे आँकलन भएको र सोही अनुसार आवश्यक तयारी गरिएको उहाँले स्पष्ट पार्नुभयो । विभिन्न अस्पतालमा १ सय ५५ वटा आइसोलेटेड वेड निर्माण गरिएको तथा चन्द्रगढी, जनकपुर, भरतपुर, धनगढी विमानस्थलमा शुक्रबारदेखि नै प्लेनमा चढ्नुभन्दा अगाडि चेकजाँच गरेर मात्रै पठाउने व्यवस्था सुरु गरिएको ढकालको भनाई छ ।

मन्त्री ढकालले कोरोना भाइरसको संक्रमणलाई लिएर प्रधानमन्त्रीकै सक्रियतामा ४ पटक बैठक बसेको र अहिले उपप्रधानको नेतृत्वमा गृह, शिक्षा स्वास्थ्य, पर्यटन, उद्योग अर्थ लगायतका मन्त्रालय समेत समेटर उच्चस्तरीय समिति बनाइएको र यसको सचिव नेपाल सरकारको मुख्य सचिव रहने व्यवस्था गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय