अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३३ | Colorodo: 14:48

लक्जम्बर्ग बन्यो सार्वजनिक यातायात निःशुल्क गर्ने संसारकै पहिलो देश

बिआरटीनेपाल २०७६ फागुन १८ गते ७:०९ मा प्रकाशित

युरोपको सुन्दर र धनी देश लक्जम्बर्ग सार्वजनिक यातायात निःशुल्क गर्ने संसारकै पहिलो देश भएको छ । आज आइतबार २०२० मार्च १० देखि लागू हुने सो व्यवस्था गरिएको हो । सर्वसाधारणले देशैभर सार्वजनिक यातायातमा निःशुल्क यात्रा गर्न पाउने भएका हुन् ।

लक्जम्बर्गका यातायातमन्त्री फ्रान्कोईस बऊसले आज लक्जम्बर्गबासीको खुशीको दिन भएको र यो दिन ‘ग्रेट डे’ रहेको आफ्नो घोषणा सन्देशमा बताउनुभएको छ । लक्जम्बर्गको राष्ट्रिय रेल सेवाका प्रथम श्रेणी र केही रात्रिकालिन बस सेवामा बाहेक अन्य सम्पूर्ण ट्राम, बस र रेल सेवा लगायतमा यो सुविधा प्रदान गरिने भएको हो ।

संसारकै १ सय ६७ औँ ठुलो र नेपालजस्तै भू–परिवेष्ठित मुलुक लक्जम्बर्ग तुलनात्मक रुपमा सानो र निकै थोरै जनसंख्या भएको मुलुक हो । यहाँको जनसंख्या ६ लाख १४ हजार मात्र छ । लक्जम्बर्ग संसारमै शान्त, सम्पन्न र धनी देशको रूपमा चिनिन्छ। लक्जम्बर्गमा जर्मन, बेल्जिक र फ्रेन्च अफिसियल भाषा प्रचलनमा रहेको छ । यहाँ काम गर्नका लागि फ्रान्स, बेल्जियम र जर्मनीलगायत देशबाट झन्डै २ लाख कामदार दिनहुँ आवतजावत गर्ने अनुमान गरिन्छ ।

यो व्यवस्था श्रमिक र आफ्ना नागरिकले प्रयोग गर्ने निजी कार र त्यसबाट हुने ट्राफिक समस्याका साथै प्रदुषण घटाउन सार्वजनिक यातायात प्रयोगमा आकर्षण बढाउनका लागि यहाँको सरकारले यो योजना ल्याएको हो । यो नियमसँगै यातायात कम्पनीलाई हुने करिब ४१ मिलियन युरो घाटा सरकारले राजस्वबाट प्राप्त रकमले क्षतिपूर्ति गर्ने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू