अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५९ | Colorodo: 15:14

‘कोरोनाभाइरस’बाट इरानमा २१० जनाको मृत्यु, संक्रमितको संख्या १५ हजार पुग्ने अनुमान

बिआरटीनेपाल २०७६ फागुन १७ गते ५:४५ मा प्रकाशित

‘कोरोनाभाइरस’को संक्रमणबाट इरानमा कम्तीमा २१० जनाले ज्यान गुमाएको स्वास्थ्य अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । अधिकांश पीडितहरू राजधानी तेहरानका र सुरूमा भाइरस देखिएको कुम सहरका रहेका बताइएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको संख्याभन्दा यो ६ गुणा बढी भएको बताइएको छ ।

शुुक्रबार सरकारी अधिकारीहरुले यस कोरोनाभाइरसबाट ३४ जनाको मृत्यु भएको जानकारी दिएका थिए । यसअघि, कुमबाट निर्वाचित एक सांसदले अधिकारीहरूले वास्तविक अवस्था लुकाएको हुनसक्ने बताएका थिए र अमेरिकाले इरानले सूचना उपलब्ध नगराएको हुनसक्ने टिप्पणी गरेको थियो ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले इस्लामिक गणतन्त्र इरानलाई सहयोगको प्रस्ताव राखिएको शुक्रबार एउटा संसदीय समितिलाई बताउनुभएको थियो । इरानभित्र स्वास्थ्य सेवा प्रभावकारी नरहेको र इरानले देशभित्र के भइरहेको छ भन्ने जनकारी दिन अनिच्छा देखाएको पोम्पेओले बताउनुभएको थियो ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता अब्बास मुसभीले सहायता उपलब्ध गराउने अमेरिकी प्रस्ताव अस्वीकार गर्नुभएको थियो । हालसम्म विश्वमा ८३,००० भन्दा बढी ‘कोभिड–१९’ का संक्रमणका घटना प्रमाणित भएका छन् । इरानी अधिकारीहरूले कोभिड–१९ नियन्त्रणका लागि मानिसहरूलाई घरभित्रै बस्न, अन्तरक्रिया र आवतजावत नियन्त्रण गर्न, भेलाहरूमा सहभागी नहुन र व्यक्तिगतरूपमा अपनाउनुपर्ने सावधानीका उपाय मान्न सुझाव दिइरहेका छन् ।

शनिबारबाट देशभरका विद्यालयहरूमा कम्तीमा तीन दिन बिदा दिने निर्णय भएको छ । तेहरानको नगर परिषद्का एक अधिकारीले कोरोनाभाइरस संक्रमितको संख्या केही हप्तामा १० देखि १५ हजार पुग्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू