प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय रवीन्द्र अधिकारीलाई सम्झदै उहाँको सरल स्वभावको प्रसंसा गर्नुभएको छ । स्व.रवीन्द्र अधिकारी प्रतिष्ठानले आयोजना गरेको प्रथम स्मृति दिवसको अवसरमा भिडियो लाइभ मार्फत प्रधानमन्त्री ओलीले आज भन्दा एक बर्ष अगाडिको घटनालाई स्मरण गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले स्व.अधिकारीको खुलेर तारिफ गर्नुभएको छ । मृदुभाषी, सरल र जनताको लोकप्रिय ब्यक्तित्व अधिकारीको निधनले अपुरणीय क्षति पुगेको भन्दै सो अवसरमा प्रधानमन्त्रीले दुःख ब्यक्त गर्नुभयो । उहाँले सरकारलाई लोकप्रिय बनाउने कार्यमा सँधै लागिपर्ने ब्यक्तित्वका रुपमा रहेका अधिकारीले पार्टीलाई मजबुत बनाउन सँधै अग्रसर रहेको समेत स्मरण गर्नुभयो । रविन्द्र अधिकारी आफ्नो कार्यकालमा सफल मन्त्री र बहुआयामिक व्यक्तित्व रहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।
स्मृति सभामा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वर्गीय रवीन्द्र अधिकारीका राम्रा काम, असल आँचरण र बानीलाई सम्झदै अनुसरण गर्नुपर्ने बताउनुभयो । उहाँले स्वर्गीय अधिकारीको निधनले कास्कीका जनताले एक विकासशिल नेता गुमाएको स्मरण पनि गर्नुभयो ।
