लघुकथा :
साँझपख खाना खाएर ऊ सोफामा पल्टेर के के सोची रहेको थियो ।उसको मनमा अनेकन् विचारहरू तरङ्गित बनिरहेका थिए ।ऊ कहिले विगत सोच्दथ्यो त कहिले भविष्यको सपना बुन्दथ्यो ।
‘मैले मेरा बुवा आमाले नकमाएको सम्पत्ति कमाएँ ।अब त म मेरा बुवा आमालाई राम्रो घरमा राख्न सक्ने भएँ ।
‘मैले मेरी श्रीमतीका रहरहरू पूरा गर्न रात दिन मेहनत गरेर पैसा कमाएँ ।अब त मैले श्रीमतीको गनगन सुन्नु पर्ने छैन ।’
अब त मेरा छोरा छोरीहरू सरकारी स्कुलमा पढ्नु पर्ने छैन ,उनीहरू ठूल-ठूला नाम चलेका स्कुलमा पढ्न पाउने भए ।’
‘मेरा साथीभाइहरू जस्ता को तस्तै छन् तर म भने धनी भएको छु ।अब त मलाई कसैले गरिब भनेर हेप्ने छैनन् ।’
उ यस्तै यस्तै सोची रहेको थियो ।अचानक कसैले उसको कोठाको ढोका ढक ढक गरेको आवाज आयो ।
उ जुरुक्क उठ्यो र ढोका खोल्यो ।
ढोका अगाडी केही प्रहरीहरू उभिरहेका थिए ।
‘तपाई नै होइन भ्रष्टाचारी ? अब हिड्नुस थानामा ।’प्रहरीहरूले उसलाई हतकडी लगाउँदै भने ।
उ डरायो ।
उसले यता उता हेरयो।
उसले घरका सबैलाई बोलायो तर कोही पनि उसको नजिक आएनन् ।
उ लुरुलुरु प्रहरीहरू सँगसँगै गयो ।
आखिर ऊ एक्लो थियो……!