अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२६ | Colorodo: 12:41

धुलोको ट्रेलरमा रिक्सावालाको पीडा

बिआरटीनेपाल २०७६ फागुन ६ गते १०:११ मा प्रकाशित

काठमाडौँ, ‘धुलो’ फिल्मको ट्रेलर राजधानीमा मङ्गलवार आयोजित प्रेसमिटमा सार्वजनिक गरिएको छ । नेपाल टेलिभिजनमा वरिष्ठ क्यामेरापर्सनका रूपमा कार्यरत सञ्चार कर्मी प्रद्युम्न मिश्रको डेब्यु निर्देशनमा निर्माण भएको फिल्म १६ फागुनमा प्रदर्शन हुदैछ ।

राजधानीमा ठेला–रिक्सा चलाएर गुजारा गर्ने मजदुरको वास्तविक जीवनशैली, सपना, सङ्घर्ष र अवस्थाको विषयमा निर्माण गरिएको ‘धुलो’ मा बुद्धि तामाङ,अग्रज केसी, सृजना सुब्बा, प्रद्युम्न मिश्र,दामोदर गजुरेल,अमृता पाण्डे, बाल कलाकार सुदीप कार्कीलगायतका कलाकार मुख्य र नीर शाह, सुशील पोखरेल तथा लक्ष्मी बर्देवालाई विशेष भूमिकामा प्रस्तुत गरिएको छ ।

चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक मिश्रले ‘धुलो’ वास्तविक जिन्दगी र घटनाहरूबाट प्रेरित भएको बताए । उनले लामो समयको सञ्चार र फिल्म कर्मको अनुभव ‘धुलो’ मा लगाएको बताए । अभिनेता बुद्धि तामाङले ‘धुलो’ काल्पनिक नभई यथार्थ जीवनका कथामा बुनिएको बताए भने अभिनेत्री सृजना सुब्बाले दर्शकले यो फिल्ममा आफूलाई महसुस गर्न पाउने दाबी गरिन् । निर्माता सङ्घका अध्यक्ष अधिकारीले आफूले केही समयअघिनै ‘धुलो’ हेरिसकेको बताउँदै फिल्म राम्रो विषयवस्तुमा निर्माण भएकाले सफलता प्राप्त गर्नेमा विश्वस्त रहेको सुनाए । उनले यो फिल्मले कलात्मक पाटोलाई सजीव ढङ्गले प्रस्तुत गरेकाले सबैलाई एकपट हेर्न अनुरोध गरे । कार्यक्रममा चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा, ‘धुलो’का गीतकार केशव मिश्र, गायक युवराज चौलागाई,प्रस्तुतकर्ता दीपा धरेल, लेखक सुवाससिंह बस्न्यात र प्रोजेक्ट एडभाइजर सिके वाग्लेले फिल्मले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे ।

दीपा धरेलको प्रस्तुति रहेको फिल्मको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुयाँल छन् । केशव मिश्र र दीपक समीरको गीत रहेको ‘धुलो’ रविन आचार्यले खिचेका हुन् । अर्जुन जिसीको सम्पादन रहेको फिल्मको गीतमा शङ्कर थापा र जुगल डङ्गोलको सङ्गीत, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू