इरानले इराकमा रहेका अमेरिकी सैनिकको बेसक्याम्पमा गरेको मिसाइल आक्रमणका कारण मष्तिस्कमा आघात पर्ने अमेरिकी सैनिकको संख्या बढेको छ । अमेरिकी अधिकारीका अनुसार १०९ जना अमेरिकी सैनिकमा अमेरिकी मष्तिस्क आघात परेको छ । यसअघि अमेरिकी अधिकारीले मष्तिस्क आघात हुने सैनिकको संख्या ६४ मात्रै रहेको बताएका थिए ।
गएको जनवरी ८ मा इरानले इराकमा रहेका अमेरिकी सैनिकको बेसक्याम्पलाई लक्षित गरी मिसाइल आक्रमण गरेको थियो । मिसाइल आक्रमणका कारण १०९ सैनिकमा ट्रम्याटिक ब्रेन इन्जुरिज् (टिबिआई) को समस्या देखिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।
इरानी विशिष्ठ सैन्य दस्ता कुड्स फोर्सका मेजर जनरल कासिम सुलेमानीको अमेरिकाले गरेको हवाई आक्रमणमा इराकको बग्दादमा मृत्यु भएपछि त्यसको जवाफ स्वरुप इरानले अमेरिकी सैनिकको बेसक्याम्पमा आक्रमण गरेको थियो ।
आक्रमणपछिको औपचारिक प्रक्रियाको क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले कुनै पनि अमेरिकी सैनिकमाथि चोट नलागेको बताउनुभएको थियो । तर पेन्टागनले अहिले आएर सो आक्रमणका कारण १०९ सैनिकको मष्तिस्कमा चोट लागेको बताएको हो । मष्तिस्क आघात परेका मध्ये झण्डै ७० प्रतिशत सैनिकहरु उपचारपछि काममा फर्किएको पेन्टागनले आफ्नो वक्तव्यमा उल्लेख गरेको छ ।