अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४८ | Colorodo: 05:03

‘कोरोना’का कारण अमेरिकी र जापानीसहित ७२२ जनाको मृत्यु

बिआरटीनेपाल २०७६ माघ २५ गते ६:२७ मा प्रकाशित

चीनबाट सुरु भइ विश्वका विभिन्न देशमा फैलिएको ‘कोरोनाभाइरस’का कारण मृत्यु हुनेको संख्या शनिबारसम्म ७२२ पुगेको छ । मृत्यु हुनेमध्ये दुईजना विदेशी पनि रहेको चिनियाँ अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले ६० वर्षीय एक अमेरिकी नागरिकको वुहानमा बिहीबार मृत्यु भएको जानकारी दिएपनि अन्य विवरण भने दिएका छैनन् ।

त्यसैगरी, अर्का एकजना ६० वर्षीय नै जापानीको पनि कोरोनाभाइरसकै कारण वुहानमै मृत्यु भएको छ । जापानको विदेश मन्त्रालयले घटनाको पुष्टि गरेको जनाइएको छ । सरकारी अधिकारीहरुकाअनुसार थप झन्डै ३५ सयजनामा यस भाइरसको संक्रमण देखिएको छ । कोरोनाका कारण चीनबाहिर भने अहिलेसम्म हङकङ र फिलिपिन्समा दुई व्यक्तिको मृत्यु भएको छ । उनीहरु दुवैजना चिनियाँ नागरिक नै हुन् ।

डिसेम्बरकोे अन्त्यमा चिनियाँ बजार वुहानमा पहिलोपटक देखापरेको नयाँ कोरोनाभाइरसको संक्रमण विश्वभर फैलिएको छ । विश्वका झन्डै ३० देशमा यो भाइरस फैलिएको छ भने तीन देशमा कुल ३२० जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । कोरोनाभाइरसबाट अतिप्रभावित क्षेत्र मानिने वुहानमा सरकारले शुक्रबार ११ हजार स्वास्थ्यकर्मी थप गरेको छ ।

देशका अति राम्रा मानिएका ‘आइसीयु स्टाफ’सहितका स्वास्थ्यकर्मीको टोली वुहानमा पठाइएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुमध्ये तीन हजारजना सघन उपचारकक्षमा काम गर्ने चिकित्सक र नर्स रहेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगका गुओ यानहोङले जानकारी दिनुभएको छ । अहिले भइरहेका स्वास्थ्यकर्मीले लामो समयसम्म काम गर्दा उनीहरुलाई शारीरिक तथा मानसिक थकान हुने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू