अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०८ | Colorodo: 17:23

क्रिकेटर कुशल मल्लले बनाए ‘डेब्यु’मै विश्व कीर्तिमान

बिआरटीनेपाल २०७६ माघ २५ गते ६:११ मा प्रकाशित

नेपालका कुशल मल्लले एकदिवसीय क्रिकेटमा ‘डेब्यु’मै सबैभन्दा कम उमेरमा अर्धशतक बनाएर विश्व कीर्तिमान कायम गर्न सफल भएका छन् । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत् अमेरिकाविरुद्धको खेलमा शनिबार उनले उक्त कीर्तिमान बनाएका हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका लागि छैटौं नम्बरमा ब्याटिङ गर्न आएका बायाँहाते अलराउन्डर कुशलले ५१ बल खेल्दै ५० रन बनाएका थिए । यसक्रममा उनले तीन छक्का र चार चौकासमेत प्रहार गरे । कुशलले १५ वर्ष ३४० दिनको उमेरमा विश्व कीर्तिमान बनाएका हुन् ।

यसअघि, एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान नेपालकै रोहितकुमार पौडेलको नाममा थियो । रोहितले युनाइटेड अरब इमिरेटस् (युएई)विरुद्धको एकदिवसीय सिरिजमा उक्त कीर्तिमान बनाएका थिए । कुशलले भारतीय क्रिकेटका पूर्वकप्तान सचिन तेन्दुल्कर र पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदीको रेकर्डसमेत तोडेका छन् । यसअघि, सचिनले टेस्टमा १६ वर्ष २१३ दिन तथा अफ्रिदीले १६ वर्ष २१७ दिनको हुँदा अर्धशतक प्रहार गरेका थिए ।

प्रतिक्रिया
लोकप्रिय