नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई भ्रष्टाचार मुद्दा लागेपछि भातृ संगठन नेपाल विद्यार्थी संघले त्यसविरुद्ध प्रदर्शन गरेको छ । नेविसंघका नेताहरुले गच्छदारलाई जोगाउन नभएर अख्तियारको कसैलाई काखा कसैलाई पाखा गर्ने निर्णयको विरोधमा प्रदर्शन भएको बताएका छन् । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले अख्तियार टंगाल बस्नु जरुरी नभएको भन्दै बालुवाटरबाटै चलाउन आग्रह गर्नुभयो । आफूहरु गच्छदारलाई बचाउन प्रदर्शनमा नआएको उहाले बताउनुभयो । मन्त्रिपरिषद् निर्णय गर्ने कसले ? माधव नेपाललाई कारवाही गर्नुपर्योे’ उहाँले भन्नुभयो, ‘निर्णय गर्ने माधव नेपाल कारबाही भोग्ने गच्छदार ? मुख्य सचिवलाई कारबाही किन नहुने ? जग्गाको लालपूर्जा लिने विष्णु पौडेल र उनका छोरालाई कारवाही नहुने ?’
नेविसंघका अध्यक्ष राजीव ढुंगानाले जनतामा देखिएको निराशा चिर्नुको सट्टा प्रधानमन्त्री सरकारी सम्पत्ति व्यापारिक घरानालाई कौडीको मूल्यमा दिने निर्णय गर्दै गएको बताउनुभयो । अख्तियारलाई संवैधानिक अंगको रुपमा रहेर काम गर्न सुझाव दिनुहुँदै उहाँले बालुटारको भातृ संगठन बन्न खोजे आन्दोलनको आँधिले बगाउने चेतावनी समेत दिनुभयो ।
प्रदर्शनमा ‘बालुवाटार जग्गा प्रकरण आफ्नालाई जोगाउने अरुलाई फसाउने, तिलकुमारीर्लाइ जेल विष्णु पौडेललाई माफी, क्याबिनेटको निर्णयमा मन्त्री जवादेही हुन्छ की प्रधानमन्त्री’, लगायतका प्लेकार्डहरु आन्दोलनकारीहरुले बोकेका थिए । आइतबार पनि तरुण दलको संयोजकत्वमा माइतीघरमा प्रदर्शन हुने बताइएको छ । नेपाली कांग्रेसले पनि अख्तियारको निर्णय भेदभावपूर्ण भएको भन्दै शुक्रबारको प्रतिनिधिसभा बैठक समेत अवरुद्ध गरेको थियो ।
