म सात आठ कक्षामा पढ्दा कलम बलियो कि तरबार भन्ने विषयमा वाद विवाद र निबन्ध प्रतियोगिता हुने गर्थ्यो । म जहिले नि कलम बलवान् हुन्छ भन्ने पक्षमा बस्थेँ र मलाई त्यस बेला नै यस कुरामा विश्वास भइसकेको थियो तर देशका एक नामी नेतालाई कलममा विश्वास हुन चौध वर्ष लाग्यो र अन्ततः बन्दुक छाडेर कलम रोजे र ऐतिहासिक शान्ति सम्झौतामा मोब्लाँ: Montblanc कलमले हस्ताक्षरको सही धस्काए । यो सम्झौताको मात्र हैन, उनले हस्ताक्षर गरेको जर्मन मोब्लाँ विलासी र अति महँगो कलमको पनि चर्चा खूब चल्यो । चर्चा नचलोस् पनि किन ? कम्तीमा चालिस हजार रुपैयाँदेखि करोडसम्म पर्ने कलम सर्वहारा नेताले भिरेपछि । अब तपाईँ नै भन्नोस् कलमले नेतालाई चर्चित बनायो कि नेताले कलमलाई । बिचरा नामी नेताका पुत्रलाई यो कलम उपहारमा आएको भनेर स्पष्टीकरण दिँदैमा हैरान भएको थियो । हुन त यस्तो कलम जनयुद्धमा जङ्गलतिर भेटिने कुरो पनि त भएन नि, कि कसो ?
कतै बाटोमा भेट्टाए वा कुनै महान् महानुभावले यस्तो महँगो कलम म लाटालाई उपहार दिए, म त सुत्दा पनि त्यही कलम भिरेर सुत्थेँ । सपना पनि त्यही कलमजस्तै दामी देखिन्छ कि के थाहा ? तर अफसोस ! आफ्नो त अर्कै कहानी छ कलमको । अलि पहिले जन्मेर हो कि क्या हो, आफ्नो पहिलो कलम थियो ‘खरी’ । हो हजुर ! खरी ढुङ्गा । अहिले जस्तो जन्मना साथ ट्याब्लेट पाटी कहाँ हुनु त्यो बेला । शुद्ध काठको पाटी थियो । अलि लाम्चो चार पाटे र मास्तिर थेप्चो समाउने भएको, थेप्चो समाउने भागमा प्वाल र प्वालमा झुन्ड्याउने डोरीको टुक्रा । यस्तै पाटीमा खरीले कपुरी क, खरायो ख लेखेको थोरै थोरै झझल्को अझ पनि छ मलाई ।
म अहिले पनि सम्झन्छु मेरो पहिलो पाठशाला अर्थात् स्कुल– श्री चण्डी विद्याश्रम, नकबहिल, पाटन (ललितपुर) । यो स्कुल हाम्रो घर नजिकै बौद्ध विहारमा थियो । म आधा कक्षामा पढ्थेँ । त्यस बेला नर्सरी, केजी भन्ने थिएन । पढाई आधा कक्षाबाट सुरु हुन्थ्यो । उक्त विहारको भजन डबलीमा परालको सुकुलमा बसेर हामी पढ्थ्यौँ । त्यही नै हाम्रो कक्षा थियो । बिना झ्याल, बिना ढोका र बिना ब्ल्याक बोर्डको । कक्षासँगै बडेमानको मूल ढोका थियो र उक्त ढोका प्रायः अग्लो लगाएर बन्द गरिएको हुन्थ्यो । शायद केटाकेटी स्कुलबाट भाग्छन् भनेर होला उक्त ढोका हाफ टाइममा मात्र खुल्थ्यो ।
स्कुलको हाफ टाइमको पर्खाइमा स्कुल बाहिर दुई जना बरफवाला हुन्थे । एक जना ठुलो बरफको बाकस लिएर बस्थ्यो, उसले पानी बरफ बेच्थ्यो । सुन्तला रङ्गको पानी बरफको तीन पैसा पर्थ्यो । अर्का बरफवाला भने ठुलो थर्मसमा खुवा बरफ बेच्थ्यो । खुवा बरफ भने दश पैसाको आउँथ्यो तर पाँच पैसाले आधा पनि किन्न पाइन्थ्यो । आफूसँग भने बरफ खाने पैसा हुँदैनथ्यो । कहिलेकाहीँ आमाले दुई चार पैसा दिनुहुन्थ्यो । कहिलेकाहीँ भगवान्लाई चढाएको पैसा भेटिन्थ्यो अन्यथा धेबा मदु ।
अँ, फेरि गरौँ पढाइको कुरा । हाम्रो पहिलो मास्टर थिए काइँला दाइ । उनको नाम हो काजीलाल अवाले । उनी थिए स्कुलका पाले, पिउन र हाम्रा गुरु । उनले अ आ इ ई भन्थे, हामी दोहराउँथ्यौ । हामी केटाकेटीहरूमध्ये कसैले चकचक ग¥यो भने ‘हे मस्त ! दाय् माल्ला !’ हे केटाकेटी हो पिट्नु पर्यो भनेर तर्साउँथे । उनले कसैलाई पिटेको भने मलाई सम्झना छैन । स्कुलको घण्टी पनि काइँला दाइले नै बजाउँथे । हामीलाई मन पर्ने पनि काइँला दाइको घण्टी हुन्थ्यो र उनले कहिले घण्टी बजाउँछन् भन्ने पर्खाइ रहन्थ्यो । धेरै वर्षपछि स्कुलको स्वर्ण जयन्तीमा हामी पूर्व विद्यार्थीहरूले स्कुलका संस्थापकहरूसँगै हाम्रा काइँला दाइलाई पनि सम्मान गरेका थियौँ एक भव्य समारोह बिच । उनी र हामी साह्रै खुसी भएका थियौँ त्यो दिन ।
अँ त, फेरि फर्कौँ कलमतिर । त्यो खरीको कलम निक्कै समयसम्म फेरिएन । काठको पाटी फेरिएर स्लेट पाटी आयो । त्यो पनि फेरियो र कालो टिनको पाटी आयो तर खरी उही नै थियो । टिनको पाटी आएको केही समयपछि बल्ल खरीबाट चकमा पदोन्नति गरियो । चकको के समस्या थियो भने यसले धूलो झार्थ्यो र चकको धूलोको बानी हामीलाई परिसकेको थियो । एक दिन बुवाले गजबको चकको टुक्रा ल्याइदिनुभयो । यसले बिलकुलै धूलो झार्दैनथ्यो र स्पष्ट लेख्ने चिल्लो चक थियो । त्यो दिन म साह्रै खुसी भएँ । त्यो मोब्लाँ कलम पाएर नामी नेता के खुसी भए होलान्? किनकि त्यस्तो चिल्लो चक न अरू कसैसँग थियो न त हाम्रो स्थानीय सामुदायिक स्कुलमा यस्तो चक थियो । बुवा अमेरिकी सहायतामा सञ्चालित कलेज अफ एजुकेसनमा पढाउनुहुन्थ्यो र त्यतैबाट त्यो चिल्लो चकको टुक्रा ल्याउनुभएको रहेछ । मेरा लागि त्यो दिन नै कुनै पार्कर, शेफर, ल्यामी वा पाइलट पेन पाएको दिनजस्तो भयो ।
तीन कक्षा पुगेपछि बल्ल सिसाकमलले लेख्न पाइयो । सिसाकमलले लेख्दा अलि उदेकलाग्दो हुन्थ्यो । लेख्न थाल्यो कलमको टुप्पो प्याट्ट भाँचिने । कहिलेकाहीँ त कलम लेखेर होइन ताक्षेर सकिन्थ्यो, रमाइलो । सिसा कलम ताछ्न सजिलो थिएन । ताछ्न बुवाले चक्कु प्रयोग गर्नुहुन्थ्यो तर हामीले चक्कु चलाउन नपाइने भएकोले बुवाले दाह्री काटेर काम नलाग्ने भएको पत्ती अर्थात् ब्लेड प्रयोग गर्नुपर्थ्यो । धेरैपछि पेन्सिल कटर भन्ने जिनिस आयो । पेन्सिल कटरमा ताछेको सिसा कलम तिखो हुने भएकोले मसिनो राम्रो लेख्थ्यो ।
मेरो विचारमा कक्षा सातदेखि मात्र फाउन्टेन पेनले लेख्न पाइयो । कलमको तल्लो भाग खोलेर मसी भर्नुर्पथ्यो त्यस्तो कलमले धेरै सतायो । हातभरि मसी लाग्ने, कहिले पोखिने, कहिले चुहिने अनेकन् समस्या । मसी सोस्ने ब्लोटिन पेपर प्रयोग गरेपछि समस्या अलि हल्का भयो । म हाईस्कूल पुगेपछि बल्ल पिचकारीजस्तो मसी तान्न मिल्ने कलम आयो । यस्ता कलमहरूमध्ये सबभन्दा चलन चल्तीको र राम्रो कलम फ्लेम नामको हुन्थ्यो । मसीमा चेल्पार्क र पेलिकन बेस मानिन्थ्यो । फ्लेम पेनले लेख्नुको मजै अर्को थियो । हुन त त्यो बेला बजारमा हिरो र युथ नामको चाइनिज कलम पनि आउँथ्यो । त्यस्ता चाइनिज कलममा मसी तान्ने रबरको सानो ट्युब हुन्थ्यो । मसिनो र सफा लेख्ने यस्ता कलमहरू महँगा थिए, त्यसैले आफूलाई भने भारतीय कलम फ्लेम मै चित्त बुझाउनु पथ्र्याे । हुन त त्यस बेला डटपेन जसलाई हामी आजकल बल पेन भन्छौँ पनि थियो । बिच बिचमा रोकिने र बरोबर छादने भएकोले त्यति चल्दैनथ्यो । अक्षर राम्रो नहुने र भरपर्दो नभएर विशेष गरेर परीक्षामा डटपेन लग्ने आँट कसैको हुँदैनथ्यो तर पछि थाइल्यान्डको ‘मोनअमि’ डटपेन आउन थालेपछि त्यो कलम कम छादने भएकोले धेरैले मन पराउन थाले । मैले ठिक सम्झेको भए त्यसको मूल्य चालिस पैसा मात्र थियो ।
म भारतमा पढ्न बस्दा त्यहाँ विदेशी सामान पाइँदैन थियो । त्यसैले विदेशी सामानको ठुलो लालसा भारतीयहरूमा थियो । त्यसैताका, एकपल्ट ट्रेनमा सफर गर्दा ट्रेनका टिकट चेकर टिसीलाई मोनअमी कलम दिँदा त्यसमा लेखेको मेड इन थाइल्यान्ड पढेर मक्ख पर्दै हामीलाई स्लिपर सिट मिलाई दिएको सम्झना अहिले पनि ताजै छ । हाम्रो होस्टेलको मेसका म्यानेजर पनि हामीले दिएको मोनअमी कलम पाएर दङ्ग पर्दथ्यो । चाइनिज युथ र हिरो कलमकालागि भैयाहरू हुरुक्कै हुन्थे ।
जागिर खान थालेपछि पार्कर पेन, शेफर पेन, वाटरम्यान पेनको बारे जान्न थालियो । यी महँगा कलमले कस्तो लेख्दो हो भन्ने कौतुहलता जहिले पनि रह्यो । एक दिन अकस्मात् न्यरोडको एक फ्यान्सी पसलमा रहेको पार्कर पेनमा मेरो आँखा प¥यो । कत्तिको महँगो छ हेरौँ भनेर साहूजीसँग मोल सोधेँ । मोल मैले सोचेभन्दा अलि कम नै थियो । पुरुषको गहना भनेको कलम हो भन्ने सम्झँदै अन्ततः जीवनको पहिलो पार्कर पेन किनियो । धनुषको बाण आकारको क्लिप भएको पार्कर पेन शानका साथ भिरियो तर त्यो कलमको मसी धेरै टिकेन, साथै कलम अलि छादथ्यो पनि । न साहूले नक्कली भिडाए कि जस्तो पनि लाग्यो ।
पछि बजारमा अरू पनि राम्रा कलमहरू देखिन थाले । तीमध्ये डिस्पोजेबल पाइलट पेन धेरै प्रसिद्ध थियो । अरू सामान्य कलमहरूभन्दा थोरै महँगो तर पार्कर पेनभन्दा सस्तो यो कलम सर्रर लेख्ने र धेरै टिक्ने, मजाको कलम । पछि यो कलम अफिसतिर पनि चल्न थाल्यो । त्यसपछि आफू पनि यो कलमतिरै लागियो ।
रहँदा बस्दा जीवनमा समयले अलि फुर्सदिलो बनाइदियो र बिस्तारै अलि बढी लेखपढ गर्न लागियो । कम्प्युटरमा किताब पढ्न खासै समस्या भएन । कम्प्युटरमा नेपाली लेख्न भने थोरै समस्या प¥यो । विचारको वेग सिधै कम्प्युटरमा उतार्न सकिएन । कम्प्युटरमा नेपाली टाइपको रफ्तार कम भएपछि पहिले पेन्सिलले लेख्ने अनि बल्ल बिस्तारै टाइप गर्ने काम गर्न थालियो तर मित्र प्रकाश सायमीको ‘काठमान्डु सेल्फी’ पुस्तकमा ‘एउटा कलमको सम्मानमा’ निबन्ध पढेदेखि पेन्सिल हैन अलि राम्रो कलमले लेखे अझ राम्रो लेख्न सकिन्छ कि भन्ने विचार मनमा जन्मायो । राम्रो कलमको चाह पनि ब्युँतायो ।
होइन यस्ता नामी कलम कुन कुन नामी मानिसले भिर्दा रहेछन् भन्ने बुझ्न मन लाग्यो । प्रकाश सायमीले उनको पुस्तक काठमाण्डैँ सेल्फीमा भनेजस्तै संसारकै विलासी कलम मोब्लाँ नेपालमा माथि वर्णन गरिएका नेता प्रचण्डबाहेक उनी आफैसँग पनि छ, त्यो पनि दुई वटा । एउटा उपहार पाएका र अर्को बाजी मारेका । आफूलाई कसैले त्यति महँगो कलम उपहार देलान् जस्तो सपनामा पनि लागेको छैन । रह्यो बाजीको कुरा, प्रकाश सायमी पो साहित्य, सङ्गीत र सिनेमाका चल्ता फिरता इन्साइक्लोपेडिया हुन, फोटोग्राफिक मेमोरी भएका व्यक्तित्व । आफू परियो अहिलेको भरे भुल्ने भुलक्कड ।
विश्वका महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले जर्मन पेलीकन १०० एन कलम चलाउँथे । उनले आफ्नो संसार प्रसिद्ध सापेक्ष वादको सिद्धान्त पनि यही कलमले लेखेका त हैनन्, जान्न मन छ । विश्व प्रसिद्ध अमेरिकी साहित्यकार मार्क ट्वेन भने कन्कलिन क्रेसेन्ट फिलर कलमले लेख्थे । अझ उनी कन्कलिन पेन कम्पनीका आधिकारिक वक्ता समेत थिए । उनले भन्ने गर्दथे कि उनलाई यो कलम टेबलमा गुडकेर नजाने भएकोले मन पर्छ ।
हाम्रा साहित्यकारको कुरा गर्ने हो भने महाकवि लक्ष्मीप्रसाद देवकोटालाई कान्छी औला जत्रो सिसा कलम भए पनि लेख्न पुग्थ्यो । प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेले आफ्नो निबन्धमा यसबारे जिकिर गरेका छन् । उनलाई मुना मदन, लक्ष्मी निबन्ध सङ्ग्रह र अन्य कालजयी महान् कृति सिर्जना गर्न न मोब्लाँ, न वाटरम्यान न त कुनै अन्य विलासी कलम चाहियो । न उनले ठिकैको पार्कर वा शेफर पेन नै चलाए होला ?
साँच्चै विचार गर्ने हो भने सिर्जनात्मक विचारको वेगलाई कागजमा उतार्दा कलमका कारणले त्यो रोकिनु हुन्न । अन्य कुरा गौण हुन, तपसिलमा राख्दा फरक नपर्ला । राम्रो सिर्जना जुनसुकै कलमले सिर्जिए पनि राम्रै हुन्छ । सिद्धिचरण श्रेष्ठलाई ‘मेरो प्यारो ओखलढुङ्गा’ कविता कोर्न पक्कै विलासी कलम चाहिएन होला । त्यसैले आजकल घरमा लेख्न खर्र लेख्ने पाइलटको जेलपेन जुगाड गरेको छु तर नढाँटी भन्नुपर्दा कुनै दयालु व्यक्तिले आदर गरेर कुनै दिन कुनै महँगो विलासी कलम उपहार दिन्छन् भने सधन्यवाद स्वीकार गर्ने लालसा मनमा भने सदा छ । महँगो कलम हैन दयालु व्यक्ति पो भेटिन गाह्रो भो । नत्र यो निबन्ध कुनै स्तरीय पत्रिकामा छापियो भने आफूले आफैँलाई पुरस्कृत गर्दै ठिक्कको जर्मन ल्यामी कलम भिर्ने सुरसारमा म पनि छु, यसो समाजमा देखाउनु पनि त पर्यो नि । जमाना नै देखावाको जो छ, कि कसो पासा ?