अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४५ | Colorodo: 02:00

अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्र्या्टिक उम्मेदवार बन्ने होडमा पिट बुटजजको अग्रता

बिआरटीनेपाल २०७६ माघ २२ गते ४:३६ मा प्रकाशित

अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि उम्मेदवार छान्ने औपचारिक प्रक्रिया सुरु भएको छ र त्यसको नतिजा आउन थालेको छ । नेपाली समय अनुसार मंगलबार बिहान भएको मतदान प्रक्रियाको नतिजा आउने क्रम जारी छ । प्राविधिक समस्याका कारण आयोवा ककसको नतिजा आउन ढिलाइ भएको हो ।

नेपाली समय अनुसार बुधबार बिहान नतिजा आउन सुरु भएको छ । ६० प्रतिशत भन्दा बढी मत गणना हुँदा डेमोक्र्या्टिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा रहेका मध्ये सबैभन्दा कम उमेरका पिट् बुटजजले अग्रता लिएका छन् । डेमोक्र्या्टिक तथा रिपब्लिकन पार्टीका समर्थकले आफ्नो तर्फबाट उम्मेदवार छान्नका लागि सोमबारदेखि क्रमिक रुपमा मतदान सुरु गरेका हुन् ।

रिपब्लिकन पार्टीका तर्फबाट वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प नै आउँदो चुनावमा पनि उम्मेदवार बन्ने पक्का गरेकाले यो प्रक्रिया औपचारिकता मात्रै हुनेछ । तर डेमोक्र्या्टिक पार्टीमा भने ट्रम्पसँग प्रतिस्पर्धा गर्नका लागि उम्मेदवार बन्ने होडमा अझै पनि ११ जना आकांक्षी रहेका छन् । आयोवा ककसमा जित निकाल्दैमा उम्मेदवारी प्राप्त गर्ने निश्चित हुँदैन । तर आयोवाको जितले आकांक्षीको अभियानलाई सकारात्मक उर्जा भने प्रदान गर्छ ।

पछिल्ला केही हप्ता डेमोक्र्या्टिक पार्टीका आकांक्षीले मध्यपश्चिमी राज्य आयोवालाई केन्द्रमा राखेर चुनावी अभियान सञ्चालन गरेका थिए । उम्मेदवार चयनका लागि हुने प्राइमरी मतदान आउँदो जुनसम्म जारी रहन्छ । जहिले पनि यो मतदान आयोवाबाट सुरु हुने गरेको छ । आउँदो मंगलबार न्यू ह्याम्पसरमा मतदान हुनेछ ।

आयोवा ककसको ६२ प्रतिशत मतको नतिजा आउँदा इन्डियाना राज्यको साउथ बेण्डका पूर्व मेयर बुटजजले २६.९ प्रतिशत मत प्राप्त गरेका छन् । यस्तै बर्नी सान्डर्स २५.१ प्रतिशतसहित दोस्रो स्थानमा छ । सन् २०१६ को चुनावमा हिलारी क्लिन्टनसँग पराजित भएर उम्मेदवारी नपाउका बर्नी यसपटक बलियो देखिएका छन् । यस्तै सिनेटर एलिजाबेथ वारेन १८.३ प्रतिशत मतसहित तेस्रो स्थानमा छिन् । आयोवामा पूर्व उपराष्ट्रपति जो बाइडेनलाई भने गम्भीर धक्का लागेको छ । उनी १५.६ प्रतिशत मतसहित चौथो स्थानमा छ । सिनेटर एमी क्लोबुसर १२.६ प्रतिशत मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू