चीनको वुहानबाट सुरु भएको नोवल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३६१ पुगेको छ । गत डिसेम्बरमा पहिलो पटक संक्रमण देखिएयता सोमवार बिहानसम्म चीनमा मात्रै ३ सय ६१ जनाको मृत्यु भइसकेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । मृत्यु हुनेमध्ये अधिकांश हुबेई प्रान्तका रहेका छन् ।
भाईरसको कारण १ जनाको मृत्यु फिलिपिन्समा भएको छ । मृत्यु हुने व्यक्ति भाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तस्थित वुहानबाट फर्किएका चिनियाँ नागरिक भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । ४४ वर्षीय ती व्यक्ति फिलिपिन्स पुग्नुअघि नै संक्रमित थिए । उनी हङकङ हुँदै एक ३८ वर्षीया महिलासँगै फिलिपिन्स गएका थिए । महिलामा पनि संक्रमणको पुष्टि भएको फिलिपिनी स्वास्थ्य विभागले जनाएको छ ।
नोवल कोरोना भाईरसबाट संक्रमितको संख्या चीनमा मात्रै १७ हजार २ सय ५ पुगेको छ ।चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएअनुसार चीनमा एकैदिन थप २ हजार ८ सय २९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका करिब दुई दर्जन मुलुकमा फैलिइसकेको छ। विश्वका विभिन्न २७ वटा मुलुकमा १७९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
भाइरस नियन्त्रणका लागि चीनले विभिन्न कदम अघि सारेको छ । जसमध्ये १० दिनभित्रै उसले बनाएको नयाँ अस्पताल सोमबारबाट सञ्चालनमा आएकोे छ । वुहानमा बनेको सय शय्याको हुओसेन्सान अस्पतालमा सुरक्षा फौजका १ हजार ४ सय मेडिकल स्टाफलाई खटाउन राष्ट्रपति सी चिनफिङले स्वीकृतिदिएलगत्तै उनीहरु वुहान पुगेका छन् । संक्रमण रोक्न हुबेई प्रान्तमा अन्य सहरबाट राष्ट्रिय मेडिकल कर्मचारी र सामग्री पठाइएको छ भने नयाँ अस्पताल बनाइएका छन् । विद्यालय क्षेत्र खुल्ने दिन हाललाई स्थगन गरिएको छ भने यात्रा प्रतिबन्धलाई जारी नै राखिएको छ । बिदा पनि तीन दिन लम्ब्याइएको छ । सोमबारबाट चीनको व्यापारिक क्षेत्र भने खुल्दै छन् । भाइरस संक्रमणका कारण खस्केको बजारलाई उकास्न केन्द्रीय बैंकले १ सय ७३ विलियन डलर उपलब्ध गराउने घोषणा गरेको छ ।
यसैबीच, वुहानपछि सबैभन्दा धेरै संक्रमित पाइएको छिमेकी हुवाङगाङमा आफ्नो ड्युटी राम्ररी नगरेको भन्दै ३ सय ३७ अधिकारीलाई कारबाही गरिएको छ । तीमध्ये ६ जनालाई जागिरबाटै निकालिएको ग्लोबल टाइम्सले उल्लेख गरेको छ । त्यसैगरी सांघाईले ग्रामीण क्षेत्रमा पर्ने ६ हजारभन्दा बढी समुदायमा स्वास्थ्य अधिकारी पठाएको छ । मास्कको खपत बढी भएपछि बजारमा देखिएको अभाव हटाउन उत्पादन कम्पनीको क्षमतामा वृद्धि गर्न लागिएको चिनियाँ उद्योग तथा सूचना प्रविधि मन्त्रालयले उल्लेख गरेको छ ।
भाइरस संक्रमितको संख्या बढी रहेको हुबेई प्रान्तका केही सहरलाई अन्य भूगोलसँग अलग राखेर रोकथाम, नियन्त्रण तथा उपचार प्रयासलाई उसले जारी राखेको छ । जसका कारण करिब पाँच करोड ६० लाख व्यक्तिको आवागमन रोकिएको छ । भाइरसको प्रकोपसँग लड्न संयुक्त राज्य अमेरिका, अस्ट्रेलियालगायत राष्ट्रले भर्खरै चीन भ्रमणका गएका सबै विदेशीलाई प्रतिबन्ध गरेका छन् । चीनबाट फर्किएका आफ्ना नागरिक र उनीहरूका आफन्तलाई भने रोक लगाइएको छैन । यद्यपि, अलग्गै राखेर निगरानी गर्ने व्यवस्था भने गरिएको छ । न्यूजिल्यान्ड, रुस, जापान, इटाली, इन्डोनेसिया, दक्षिण कोरिया र सिंगापुरले पनि यात्रा प्रतिबन्धको घोषणा गरेका छन् ।
यसैबीच, भारतले वुहानबाट तीन सय जना नागरिकलाई फिर्ता लगेको छ । करिब सय जना जर्मन नागरिक पनि स्वदेश फर्किएका छन् । थाइल्यान्ड र रुसले पनि वुहान र हुबेई प्रान्तबाट आफ्ना नागरिक फिर्ता लाने तयारी गरिरहेका छन् । बेलायतले पनि आफ्ना नागरिक फिर्ता लगेको छ।
सन् २००३ मा फैलिएको ‘सार्स’ महामारी जस्तै कोरोना भाइरस पनि विश्वका दुई दर्जन देशमा पुगिसकेको छ । यद्यपि नयाँ भाइरसबाट मृत्यु हुनेको दर भने ‘सार्स’ को भन्दा कम रहेको स्वास्थ्य अधिकारीले बताएका छन् ।