अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२५ | Colorodo: 11:40

चीनमा रहेका नेपाली विद्यार्थी स्वदेश फर्काउने तयारी, १५ दिनसम्म ‘क्वारेन्टइन’मा राखिने

बिआरटीनेपाल २०७६ माघ २० गते ०:२९ मा प्रकाशित

कोरोना भाइरसको संक्रमण बढेपछि चीनबाट ल्याउन लागिएका नेपाली विद्यार्थीहरुलाई १५ दिनसम्म छुट्टै स्थान (क्वारेन्टइन)मा राखिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो । चीनबाट स्वास्थ्य परीक्षण गरेर स्वस्थ विद्यार्थीलाई मात्र नेपाल ल्याईने भन्दै मन्त्रालयले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा उनीहरुको पूनःपरीक्षण समेत गरिने जनाएको छ ।

परीक्षणपछि संक्रमित भेटिएकालाई आइसोलेसन वार्डमा राखिर उपचार गरिने र बाँकीलाई क्वारेन्टाइनमा राखिने छ । यसका लागि सम्भावित स्थलहरुको खोजी भैरहेको मन्त्रालयका प्रवक्ता डा.महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । चीनबाट नेपाली विद्यार्थी ल्याउन जोखिम र चुनौती दुवै रहेको भन्दै उहाँले आवश्यक सुरक्षा सतर्कता अपनाएर नै नेपाल ल्याउन लागिएको जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठले कोरोना भाइरस परीक्षणका लागि किटको अभाव हुन नदिने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आवश्यक सुरक्षा सतर्कता अपनाउने काम भैरहेको बताउनुभयो । आपतकालीन स्वास्थ्य परिचालन केन्द्रका प्रमुख सागर दाहालले वागमती प्रदेशका सबै अस्पताललाई तयारी अवस्थामा रहन भनिएको र इलामको पशुपतिनगर र भक्तपुर अस्पतालमा समेत हेल्थ डेस्क स्थापना गरिएको जानकारी दिनुभयो ।

यसैबीच, परराष्ट्र मन्त्रालयले चीनमा रहेका विद्यार्थीहरुलाई नेपाल ल्याउन तयारी शुरु गरिसकेको जनाएको छ । कोरोना भाइरसका संक्रमण फैलिएसँगै चीनबाट नेपाल आउन चाहेका विद्यार्थीहरुलाई सुरक्षा सतर्कता अपनाएर ल्याउन तयारी गरिएको हो ।

मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले नेपाल आउन चाहने विद्यार्थीको नामावली र विवरण संकलन भइरहेको र अहिलेसम्म १ सय ७७ विद्यार्थी बेइजिङस्थित दूतावासको सम्पर्कमा आएको जानकारी दिनुभयो । नाम संकलन भइसके पछि नेपालबाट जहाज पठाएर विद्यार्थीहरुलाई नेपाल ल्याईने उहाको भनाई छ । हुवेइ प्राप्तको विभिन्न स्थानमा रहेका विद्यार्थीलाई सुरक्षित रुपमा ल्याउन दुतावासले प्रक्रिया सुरु गरिसकेको भन्दै परराष्ट्रका प्रवक्ता पौड्यालले केही दिनमा नै उनीहरुलाई नेपाल ल्याउन सकिने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय