विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयले कोरोनाको संक्रमण फैलन नदिन आग्रह गरेको छ । यस क्षेत्रका राष्ट्रलाई छिटोभन्दा छिटो भाइरसको पहिचान गर्न र यसलाई फैलन नदिनका लागि सतर्क रहन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको हो ।
डब्लूएचओले विश्वव्यापी रूपमा संक्रमण पत्ता लगाउन, परीक्षण गर्न, संक्रमणको चिकित्सकीय व्यवस्थापन गर्न, भाइरस संक्रमणको आशंका गरिएका व्यक्तिलाई स्वास्थ्य संस्था वा घरमा हेरचाह गर्दा संक्रमण रोकथाम तथा नियन्त्रण गर्न र भाइरसको संक्रमण न्यूनीकरण गर्ने उपायसहितको अन्तरिम मार्गदर्शन तयार पारेको छ । संगठनले यस रोगको निगरानी, इपिडिमियोलोजी, मोडलिङ, निदान, चिकित्सकीय स्याहार तथा उपचार तथा संक्रमणको पहिचान, व्यवस्थापन तथा नियन्त्रण गर्ने अन्य उपाय खोज्ने कार्यमा अनुसन्धानकर्ता र अन्य विज्ञहरूसँग विश्वव्यापी रूपमा सहकार्य गरिरहेको छ ।
गत हप्ता बसेको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमनको आपतकालीन समितिको बैठकले नोवेल कोरोना भाइरस–२०१९ भनिने नयाँ कोरोना भाइरसलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य संकट (पिएचइआइसी) घोषणा नगरे पनि यसको जोखिम उच्च रहेको आँकलन गरेको थियो ।
डा. खेत्रपाल सिंहले अन्तर्राष्ट्रिय स्वास्थ्य नियमनले सुझाएका मूलभूत उपायको कार्यान्वयनमा सदस्य राष्ट्रसँग मिलेर काम गर्न संगठन प्रतिबद्ध रहेको बताउनुभयो । डब्लूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रमा ११ सदस्य राष्ट्र छन् । बंगलादेश, भुटान, कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, नेपाल, श्रीलंका, थाइल्याण्ड र टिमोर–लेस्टी सदस्य राष्ट्र हुन ।