अमेरिकाको मेनमा बस्ने एक महिलालाई नक्कली विवाह गर्नका लागि पैसा तिर्ने एक नेपालीलाई एक महिनाको कारावास सजाय सुनाईएको छ । अमेरिकामा बसिरहन र काम गरिरहनका लागि उनले नक्कली विवाह गरेका थिए । क्यालिफोर्नियाको कुपर्टिनोमा बस्ने एइलोभ श्रेष्ठले बांगोरमा रहेको यूएस डिस्ट्रिक्ट कोर्टसमक्ष दोष स्वीकार गरेका छन् । वैवाहिक ठगीको मामिलामा उनले दोष स्वीकार गरेका हुन् ।
न्यायाधीश लान्स वाकरले श्रेष्ठलाई एक महिना कारावास सजायका साथै दुई वर्ष निगरानी (प्रोबेसन)मा बस्नुपर्ने अनि चार हजार डलर जरिवाना तिर्नुपर्ने सजाय पनि सुनाएका छन् । न्यायाधीशले श्रेष्ठलाई फेब्रुअरी २६ मा कारागारसमक्ष हाजिर हुन आदेश दिएका छन् । त्यतिखेरसम्मका लागि उनी पाँच हजार डलर जमानत तिरेर स्वतन्त्र छन् । वाकरले श्रेष्ठमाथि दोष ठहर भएका कारण उनलाई नेपाल फिर्ता पठाइने सम्भावना रहेको बताएका छन् ।