अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रक्रिया अघि बढाउनका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभएको छ । यसअघि संसदको तल्लो सदनले महाअभियोगमा मतदान गर्नुअघि अनुसन्धानका क्रममा भने बोल्टनले ट्रम्पकै निर्देशनमा छानविनमा असहयोग गर्ने घोषणा गर्नुभएको थियो ।
तर तल्लो सदनले बहुमतले महाअभियोग प्रस्ताव पारित गरेर माथिल्लो सदनमा विचाराधिन अवस्थामा रहेका बेला बोल्टनको यस्तो भनाई आएको हो । बोल्टनले एक विज्ञप्ती जारी गरी आफू ट्रम्पविरुद्धको महाअभियोग छानविनका लागि सहयोग गर्न तयार रहेको स्पष्ट पार्नुभएको बीबीसीले जनाएको छ । बोल्टन राष्ट्रपति ट्रम्पका विवादास्पद गतिविधिका बारेमा जानकार रहेको बताईएको छ ।
राष्ट्रपति ट्रम्पलाई आफ्नो राजनीतिक स्वार्थ पूरा गर्नका लागि युक्रेनमाथि दवाव दिएको आरोप लागेको छ । ट्रम्पले आगामी राष्ट्रपतिय निर्वाचनमा आफ्ना सम्भावित प्रतिस्पर्धिलाई भ्रष्टाचारको अभियोगमा छानविनको दायरामा ल्याउन युक्रेनमाथि दवाव दिएको विपक्षीहरुले आरोप लगाएका छन् ।