अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३८ | Colorodo: 03:53

काँग्रेसको असन्तुष्ट पक्षका जिल्ला सभापतिको भेला

बिआरटीनेपाल २०७६ पुष २१ गते ८:०९ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको असन्तुष्ट समूहका जिल्ला सभापतिहरूको भेला सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । सभापति शेरबहादुर देउवाको निर्णयको बिरुद्धमा रहेका असन्तुष्ट समूहले जिल्ला सभापतिको भेला आयोजना गरेको हो ।

सभापति देउवाले बोलाएको बैठक बहिष्कार गर्दै आएको असन्तुष्ट समूहले जिल्ला सभापति भेला आव्हान गरेको थियो । क्रियाशील सदस्यता वितरणका विषयमा विधानका कतिपय धारा निलम्बन गरेर देउवाले निर्णय लिएको भन्दै निरन्तर उक्त समूहले बैठक बहिष्कार गर्दै आएको छ । देउवाको निर्णय नसच्चिएसम्म समानान्तर गतिविधि गर्ने घोषणा गरेको उक्त समूहले पहिलो पटक सभापति भेला आयोजना गरेको हो ।

भेलामा ४० भन्दा बढी जिल्लाका सभापतिहरुको सहभागिता रहेको छ । पुस ११ गते वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको बहिस्कारकाबीच सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकबाट महाधिवेशनको कार्यतालिका, विभागको संख्या थप्ने र पार्टी विधानका दफा निलम्बन गर्ने निर्णय गर्नुभएको थियो ।

सभापति देउवाका एकलौटी निर्णय सच्याउन दबाब दिनको लागि पौडेल पक्षले सभापतिको भेला बोलाएको हो । भेलामा नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहान्त्री प्रकाशमान सिंहलगायत पौडेल पक्षका नेताहरु सहभागी छन् ।

भेलामा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी हुने बताइएको थियो । तर, सोमबार अपराह्नसम्म सिटौला र उहाँ पक्षका जिल्ला सभापतिहरु सहभागी भएका छैनन् । भेलामा सहभागी जिल्ला सभापतिहरुले पुस ११ गते गरेका निर्णय सच्याउन र पार्टीलाई विधि र विधानसंगत ढंगले चलाउन माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय