भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकता कानुनका सम्वन्धमा विपक्षीले भ्रमको खेती गरेको बताउनुभएको छ । नागरिकता ऐनको विरोधमा मुलकभर नै आन्दोलन चर्किएका बेला मोदीले त्यसको वचाउ गर्दै विपक्षीले भ्रमको खेती गरेको बताउनुभएको हो ।
भारतीय जनता पाटीं (भाजपा) को मूल नारा नै सबका साथ सबका विकास भएको भन्दै मोदीले कसैलाई पनि विभेद नगरेको दावी गर्नुभएको छ । राजधानी नयाँदिल्लीस्थित रामलिला मैदानमा आज पार्टीद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै मोदीले नगरिकता कानुन र राष्ट्रिय नागरिक पञ्जीकरण (एनआरसी) को विरोधमा मुस्लिम समुदाय आन्दोलित भएको तर्फ संकेत गर्दै भारतीय मुसलमानलाई चिन्ता नगर्न आग्रह गर्नुभयो ।
नागरिकता संशोधन ऐनविरुद्ध भारतमा विगत दुई सातादेखि जारी आन्दोलनमा २० जनाको मृत्यु भइसकेको छ । सयौं पक्राउ परेका छन् । प्रदर्शनका क्रममा ठूलो मात्रामा सार्वजनिक सम्पत्तीमा क्षति पुगेको छ ।
विवादित नागरिकता संशोधन ऐनको विरुद्धमा पूर्वोत्तर भारतको आसाम र त्रिपुराबाट दुई साताअघि शुरु भएको आन्दोलन देशव्यापी बन्दै गएपछि विभिन्न स्थानमा हिंसात्मक प्रदर्शन भएका छन् ।