अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:२१ | Colorodo: 17:36

नेपाली साहित्यमा प्रकाश श्रेष्ठ

रश्मि भट्ट २०८१ चैत २० गते २०:२० मा प्रकाशित

नेपाली साहित्यमा कथा कविता, उपन्यास, केही गीत तथा भजनहरूमा विशेष रुचि राख्दै लेखिरहने अग्रज साहित्यकार प्रकाश श्रेष्ठ चितवन नवलपरासीमा जन्मी हुर्की बढेर अहिले अमेरिकामा अस्थायी बसोबास गरिरहनु भएको छ । उंहाले सुन्तलीटार कथा सङ्ग्रह, शान्ति उपन्यास तथा सफर जिन्दगीको नामक कविता संग्र्ह प्रकाशन गरिसक्नु भएको छ । अहिले आएर फेरि त्रियाशकक उपन्यासका साथै आफ्नै माता पिताको जीवनी संग्र्रह निकाल्नुभएको छ । उमेरले जति उकालो लाग्दै गयो उति नै उहाँको साहित्यिक कलम चम्किरहेको हामी देख्न सक्छौँ । उहाँसँग साथी हुनुहुने मित्रहरूले फेसबुकमा पनि देख्न सक्नुहुन्छ कविता, गीत, भजन तथा केही न केही साहित्यिक खुराक उहाँले पस्किरहनुहुन्छ । साहित्यकार बन्न रुचि मात्र भएर हुँदैन, लगाव र साधना उतिकै हुनुपर्छ । यो विशेषता उहाँमा पाइन्छ । सबैका आ–आफ्ना किसिमका विचार, भाव, चरित्र तथा स्वभाव भए जस्तै साहित्यकारका पनि आफ्नै विशेष विचार, भाव र विशेष किसिमका पाठकहरू हुन्छन् । कोही बढ्तै देखावटी गरेर, कोही धन, पैसा पेलेर त कोही अति नै चाकरी गरेर, ज्यु ज्यु हजुर गरेर आफू र आफ्ना कृति प्रकाशमा ल्याउँछन् र आफूलाई निकै चर्चित अनि अरू चाहिँ शून्यमा बिलाएको सम्झन्छन् । कुण्ड, कुण्ड पानी, मुण्ड, मुण्ड बुद्धि भने झैँ हामीले सुन्ने हो, सहने हो, हेर्ने हा, तिनीहरूसँग सवाल, जबाफ गर्ने भने होइन ।

यस्तै आफूलाई विशिष्ट नसम्झने तर आफूबाट जे सकिन्छ, निरन्तर लेखिरहने, सृजनशील भइरहने आफ्नो सद्ज्ञान बाककड्ने व्यक्तिहरू नै वास्तवमा असल साहित्यकार हुन् । यिनै विशेषता बोक्ने मध्ये एक व्यक्तित्व भित्र मैले प्रकाश श्रेष्ठ सरलाई पनि राखिदिएँ । असल र सच्चा साहित्यकारहरूको चर्चा, परिचर्चा पनि असल र सामान्य मानिसहरूबाट नै मात्र हुने गर्छ । अरूलाई त पद र धन दिनेको ठुलाबडा भनिएको चर्चा गर्दैमा र जिन्दगी भरी तिनैका गीत गाउँदैमा ठिक्क हुन्छ ।

हालै प्रकाश श्रेष्ठ सरको नयाँ संग्र्रह उहाँको पिताको बारे लेखिएको जुलुम बहादुर, पवन कुमारी नामक जीवनी सङ्ग्रह बजारमा आइपुगेको छ । संसारमा माता पिता भन्दा ठुला अरू को होलान् र जसका कोखबाट जन्म लिएर हामी यो सुन्दर संसार देखिरहेका छौँ । यसमा पनि कतिपय साहित्यकारको विमति छ –– आफ्नाको बारे पनि के लेख्ने ? ती त आफ्नै छन्

माता पिता, नदी नाला र हावापानीबारे मात्र कति लेख्ने ? ती त कुनै नौलो कुरा नै हैन । सबै प्रकृति प्रदत्त हुन् । यसको पनि वर्णन गरिरहने ? केही नौला विषयवस्तुबारे लेख, नयाँ शैलीमा लेख । उनीहरूले भने भन्दैमा हामी यसैको पछि दगुर्ने पर्ने जरुरी पनि छैन । आखिर, सत्य भनेकै ईश्वर र प्रकृति हुन् । सूर्य, चन्द्र, पृथ्वीलाई नयाँ बनाएर देखाउन चुनौती दिन मन लाग्छ तिनीहरूलाई । यस्ता कुराको बेपर्बाह स्वरूप नै प्रकाश सरको यो कृति आएको छ ।

त्रियाककश उपन्यास एक सामाजिक उपन्यास हो र यसका कथा तथा विषयवस्तु, पात्र र चरित्र हु–बहु हाम्रै समाज भित्रका छन् । हालै आजकाल यस्ता आदर्श पात्र त समाजमा निकै कम छन्, जो छन्, बचे खुचेका तिनैले नै घर समाज र देशलाई टुक्रनबाट बचाई रहेका छन् । शकुन्तला अर्थात् पुन्टी मुख्य र आदर्श पात्र हुन भने त्रिभुवन सहायका तथा, बाध्यताका भुमरीमा परेका र यामिनी खल पात्रकै रूपमा आएकी चरित्र हुन् । खास गरी यी तीन पात्रको सेरोफेरोमा नै उपन्यास घुमेको छ । शाकुन्तलका आमा बाबु सरल, सादा चरित्रका छन् भने शाकुन्तलाकै सासु, ससुरा तथा त्रिभुवनका माता पिता मध्ये माता सुरुमा खल पात्र र पछि सुध्रिएकी चरित्रमा देखा पर्छिन् । पिता विष्णु उपन्यास को सुरुदेखि अन्त्य सम्म नै राम्रो काम गर्ने पात्र तथा चरित्रकै रूपमा छन् । उनलाई पनि मुख्य पात्र भन्दा फरक पर्दैन ।

शकुन्तला जस्तो आदर्श पात्र त अव पाइँदै पाइँदैन, उनी आदर्श त छन् तर कमजोर पनि छन् । कर्तव्य मात्र पुरा गर्न खोज्ने, हक हित र अधिकारका बारे सवालै उठाउन चाहन्न । सधैँ सहनशील बनेर नै बाककच्न चाहन्छिन् । आफू भन्दा अर्काकै भलो चिताउन खप्पिस छन् । अव यहाँनेर प्रश्न उठ्छ –– उपन्यासकारले सत् र मुख्य पात्रलाई नै यति कमजोर देखाएर कस्तो आदर्शको सन्देश आजको समाजलाई दिन खोजेका हुन् ? लोग्ने अपाङ्ग वा दुर्बल भयो भने दोस्रो विवाह त के दायाँ वाया सोच्दा पनि नसोची उही लोग्नेका सेवा गरी जीवन बिताउने लाखौँ करोडौँ नारीहरू छन् तर एउटै पुरुष पनि किन असहाय र दुर्बल पत्नीलाई ती सज्जन नारीहरूले झैँ अर्को विवाह नगरी उनैको सेवा गरी, उसैलाई त्याग गरी जीवन निर्वाह गर्न सक्दैन ? पढ्ने सबै पाठकको मनमा प्रश्न आउन सक्छ । हामी जति कमजोर भयो, दैव पनि हामीलाई कमजोर बनाउन उताकै लागि पर्छ । भनिएकै छ – दैवो दुर्बल घातक ।

अव हामी सबै उपन्यास लेख्नेले कलमबाटै परिवर्तन ल्याउन ढिला पो भयो कि ? लेखाइबाटै यस्तो देखायौँ भने पढेर जानेर व्यवहारमा देखिन थाल्छ कि ? यति हुँदा हुँदै पनि, नियतिले ठगे पनि शकुन्तलाको नै जीत भएको छ । यसैले उपन्यास सफल छ । पति, सासु ससुरा सबै उनीप्रति समर्पित भएका छन् । अर्काको पत्नी छ भन्ने उसको पतिकै मुखबाट थाहा पाएर पनि पढेर लेखेर पनि सौता बन्न जाने, उसको पतिलाई म तपाईँसँग विवाह गर्दिन, तपाई आफ्नै पत्नीलाई सेवा गरेर जीवन विताउनुस नभन्ने । यस्तै नारीले गर्दा नै हो नारीले सधैँ अन्याय सहेर बाँच्नु पर्ने र सहनशीलताको बाटोबाट मात्र मुक्ति पाउने । उपन्यासको शीर्षक सार्थक छ, भाषा शैली र वर्ण विन्यास कतै कतै चिप्लेको छ । कतै कतै यसो लेखकले भन्न शखोजेका कुरा वा भ्व दोहोरिएको हो कि जस्तो बाहेक कृतिमा कुनै कमजोरी फेला पार्न खोजे पनि सम्भव छैन । वर्ण विन्यास तथा केही शब्द, वाक्यका गल्ती त प्रिन्टबाट पनि हुन सक्छ । समग्रमा उपन्यास पठनीय छ र उपन्यासकारलाई सामाजिक उपन्यासका हेतुले पूर्ण सफल भन्न सकिन्छ । उपन्यास पढ्न बसेपछि अन्त्यसम्म पुग्न पाठकलाई हतार हुने खालको छ । सबैले खोजी खोजी यो उपन्यास पढ्नुहुन सबैलाई म यसै लेखबाट आग्रह पनि गर्दछु ।

यसै गरी प्रकाश श्रेष्ठको अर्को कृति आफ्नो बाबुआमामा पूर्ण जुलुम र पवनकुमारी प्रति पूर्ण समर्पित कृति हो । यसमा उहाहरको जीवनबारे सङ्क्षिप्त तर पूर्ण जस्तो वर्णन छ, पूर्ण कथाको जस्तो शैली पनि छ । लेखक आमाबाबु प्रति कृतज्ञ हुनाको साथै सझना स्वरूप यो जीवनी लिखत रूपले पनि लिपिबद्ध गर्न चाहेको कुरा प्रस्ट बुझिन्छ । लेखकीय माध्यमले पनि लेखकले पितृ ऋण चुकाएको महसुस पनि गर्न सकिन्छ । हामी सबै भगवानका सृष्टि हौँ आमाबाबा पनि भगवान् नै हुनुहुन्छ प्रत्येक सन्तानका लागि । कसैले गुणगान गाउँछन्, कोही चुप बस्छन् । कोही आफू र आफ्नाहरूबारे त केही लेख्ने नै हैन, त्यो अरूद्वारा लेखिनु पर्छ भन्छन् । इच्छा आ–आफ्नो हो तर मेरो विचारमा पनि नलेख्ने हो भने आफ्नाबारे आफ्नैलाई मात्र ज्ञान हुन्छ । आफ्नै भावी पुस्तालाई पनि कथा जस्तो मात्र लाग्न सक्छ । लेखोट एक ऐतिहासिक दस्ताबेज हो ।

आजसम्म प्रिया प्रेयसीबारे मात्र लेखिएका कृति धेरै र आमाबाबु तथा सन्तानकाबारे कमै लेखिएका छन् । आमाबाबुबारे लेख्नु भनेको सम्मान हो, आस्था हो, श्रद्धा हो र भावी पिँढीलाई उहाँहरू बारे बुझ्ने, बुझाउने एक लिपिबद्ध ऐतिहासिक दस्ताबेज पनि हो । सकिन्छ भने सबैले यसै गरी आफ्ना मातापिताका बारे पनि लेखौँ । तसर्थ यो कृति जीवनीका रूपले सबैलाई उपयोगी छ । प्रकाश श्रेष्ठका मातापिता दुवै चेतनशील, कर्तव्यपरायण, दूरदर्शी, समय अनुसारको शिक्षा दीक्षाहरू भन्दा पोख्त, देखिनुहुन्छ । दुःख सँग नडराउने, सुख र अवसरहरूलाई राम्रो व्यवस्थापन गरेर जीवन यापन गर्ने साहसी हुनुहुन्छ । मुख्य कुरा उहाँहरूसँग सेवा र परोपकारी भावको प्रशस्त छ । यही चरित्र प्रकाश सरमा पनि स्थापित भएको अवश्य महसुस गर्न सकिन्छ । उहाँका चार कृति पढ्ने अवसरका आधारमा मैले मुल्याकन गरेकी छु । उहाँ र उहाँको घर परिवार, जीवन र व्यवहारलाई नजिकबाट चिन्नेहरूले पनि यस्तै मुल्याकँन गरेको सुनेकी छु । प्रकाश श्रेष्ठ सरको जीवनीपरक यो जुलुम र पवनकुमारी नामक कृतिलाई पनि सबैले खोजी खोजी पढौँ । अहिलेलाई यी दुवै कृतिबारे यति नै प्रकाश पार्न सकेँ । बाँचुन्जेल प्रकाश सरका कृतिहरू आइ नै रहुन् । मेरो तर्फबाट यी दुवै कृतिको लागि भव्य सफलता र शुभकामना पनि ।।