न्यूयोर्क । आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना)को आयोजनामा नेपालका प्रथम सहिद लखन थापा मगरको १४८औँ स्मृति दिवस अमेरिकामा भव्य रूपमा मनाइयो । नेपाल सरकारका महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नोबल किशोर शाह सुडीको प्रमुख आतिथ्य सम्पन्न भएको कार्यक्रममा विशेष अतिथिको रूपमा प्रतिनिधिसभाका सदस्य सुशीला श्रेष्ठ र माननीय कमला बिक संविधान सभा सदस्यको समेत उपस्थिति रहेको थियो । फिप्नाले प्रथम शहीद लखन थापा मगरको स्मृति दिवस विगतदेखि मनाउँदै आइरहेको छ ।
प्रथम सहिद लखन थापाको तस्बिरमा माल्यार्पण तथा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि शाहले थापाको योगदानको कदर गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले जनजाति, दलित मधेसीले आफ्नो अधिकार स्थापित गर्नका लागि एक जुट भएर अगाडि बढ्नुको विकल्प नभएको पनि बताउनुभयो । कार्यक्रममा विशेष अतिथि सुशीला श्रेष्ठले प्रथम सहिद थापाको मार्ग दर्शन र त्यागको सम्मान गर्दै हाल नेपालको समसामयिक राजनीतिक बारेमा आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । आफ्नो धारणा राख्ने क्रममा उहाँले लिम्बु जातिको संस्कृति सम्पदा मुकुम्लुङमा सरकारलाई अनावश्यक हस्तक्षेप नगर्न चेतावनी पनि दिइन् । सरकारले यसरी जबरजस्ती केबलकार निर्माण गरिए दीर्घकालीन सञ्चालन नहुने र भविष्यमा हुने क्षति अकल्पनीय हुने उनीले बताइन् ।
प्रतिनिधिसभा सदस्य कमला विश्वकर्माले पनि कार्यक्रममा बोल्दै उहाँलाई वर्षमा एक दिन नसम्झी उहाँको नाममा स्वास्थ्य संस्था तथा शैक्षिक संस्था स्थापना गर्नुपर्ने आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
स्मृति दिवसमा सङ्घीय परिषद्को उपसभामुख निमा गोले तामाङ, सामाजिक अभियान्ताहरु केशवराम राई, समीर महर्जन, शेर्पा किदुङका अध्यक्ष तेम्बा शेर्पा, कलाकार संघकी अध्यक्ष बसन्ती राईले पनि आ–आफ्नो मन्तव्य राख्नुभएको थियो ।
फिप्नाका अध्यक्ष तोरण गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम महासचिव दीपक चौधरीले सञ्चालन गर्नुभएको थियो । उक्त अवसरमा संस्थाका सचिव शान्ति गुरुङ कोषाध्यक्ष कृष्णमाया महर्जन र महासंघको सल्लाहकार कुलदीप राना मगर लगाए त नेपाली डायस्पोराको सामाजिक व्यक्तिहरू पनि उपस्थिति रहेको थियो ।