हातको घडी हेर्छु। बिहानको ११ बजिसकेको हुन्छ। माथि आकाशमा हेर्छु। पुरा आकाश सेतो बादलले ढाकेको छ। चिसो हावा बिस्तारै चलिरहेको छ। आफैभित्र जाडो महसुस गर्छु। भित्र आएर ओढ्ने ओढ्छु। किन…किन फेरि बाहिर जान मन लाग्छ। धेरै दिन भयो- छतमा नगएको। सौराहाबाट फर्केपछि म छतमा गएकी नै छैन। माथि छतमा जान्छु। वरिपरि आफूले रोपेका फुल-बिरुवा अनि कर्कलो, लसुनका बोटहरू हेर्छु। उनीहरूलाई पनि म जस्तै जाडो होला भनेर पानी हाल्दिन- ती बोटहरूमा।
अगाडिको मेच तानेर बस्छु। यसो पल्लो घरतिर हेर्छु। पल्लो घरको छिमेकी बहिनी रिमा मलाई हेरेर मुस्कुराउँछिन् । म पनि फिस्स हाँसिदिन्छु। उनी मलाई नमस्ते गर्छिन्। म नमस्ते फर्काउँछु। हामीबिच नमस्तेको आदान-प्रदान हुन्छ।
“दिदी, धेरै दिन भयो हजुरलाई नदेखेको… कहाँ जानुभएको थियो …?”- उनी प्रश्न गर्छिन्।
“म सौराहा गएकी थिएँ ।”- म छोटो उत्तर दिन्छु।
“के काम थियो दिदी सौराहामा…?”- उनी पु:न प्रश्न गर्छिन्।
“म ध्यान गर्न गएकी थिएँ”- म पन्छिन खोज्छु।
छत-छतबाट कुरा गर्न मलाई अप्ठ्यारो लाग्छ।
अनि म उनलाई “आउनुस् न घरमा अनि बसेर कुरा गरौंला” भनेर बोलाउँछु।
नभन्दै उनी आउँछिन् – मसँग गफ गर्न। मलाई गफ गर्न खासै मन पर्दैन। साँच्चै भन्ने हो भने मलाई गफ गर्नै आउँदैन। जे छ त्यो भन्यो सिद्धियो। सबैभन्दा गाह्रो लाग्ने काम नै हो मलाई- गफ गर्नु। यसैले म मान्छे जहाँ धेरै हुन्छन्, त्यहाँ कहिल्यै बस्दिन। बस्न मन पर्दैन।
उनी आउँछिन्। म तल ढोका खोल्न जान्छु। माथि लिएर आउँछु। हामी दुवै कोठामा बस्छौँ।
उनी मलाई प्रश्न गर्छिन्- “हैन दिदी, धेरै दिन भयो तपाईँलाई नदेखेको, कौसीमा,छतमा यताउति देखिन्थ्यो। “
“म ओशो आश्रम सौराहाबाट सञ्चालित आर्य मौनमा गएकी थिएँ।“- म सविस्तार भन्दछु।
“आर्य मौन…?”- उनी अचम्म पर्छिन् ।
“हो, आर्य मौन”- म पनि हाँसिदिन्छु।
“के हो आर्य मौन दिदी…? मलाई पनि भन्नुस् न”- उनी झन् जिज्ञासा पोख्छिन्।
“आर्य मौन- यो एक बौद्ध अभ्यास हो। जसमा भित्री संसारमा ध्यान केन्द्रित गर्न र व्याकुलताहरू छोड्न मौन अवधि समावेश हुन्छ। यो मानसिक र शारीरिक स्वास्थ्य सुधार गर्ने र आफ्नो वरपरको संसारको बारेमा थप उपस्थिति र सचेत हुने तरिका हो। यसमा शरीर, वाणी र मन मौन हुन्छ। यसमा सञ्चारको कुनै पनि रूप, चाहे इशाराहरू, साङ्केतिक भाषा, लिखित नोटहरू, आदि कुनै पनि प्रयोग गर्न निषेधित हुन्छ। गर्न पाइँदैन। “-म बिस्तारै व्याख्या गर्छु।
“नबोलीकन दिनभरि कसरी बस्ने त? यसबाट हामीलाई के हुन्छ त दिदी…..?”- उनी जिज्ञासा पोख्छिन्।
“आर्य मौन “उच्च मौन” को अभ्यास हो, जसमा ध्यान केन्द्रित गर्न र मनलाई विचलित हुनबाट बचाउँछ, र मन शान्त गराउँछ । यो प्रायः विपश्यना ध्यानको अभ्यास हो”- म बिस्तारै भन्छु
“दिदी, मौन भनेको त बुझेकी छु तर यो आर्य भनेको के हो…? – उनी पु:न प्रश्न गर्छिन् ।
“”आर्य” को शाब्दिक अर्थ संस्कृतमा “उच्च” वा “माननीय” हो, उच्च सामाजिक स्थिति वा महान् गुणहरू भएको व्यक्तिलाई जनाउँछ।- “म उनलाई आर्यको परिभाषा दिन्छु।
रिमा मेरी छिमेकी हुन्। विवाह भएको छैन। बुबा-आमा, दाजु-भाइसँग बस्छिन्। दिउँसो कार्यालयको काम गर्छिन्। म कहाँ कहिलेकाहीँ आइरहन्छिन्: अन्त जाँदिनन्। मसँग कुरा गर्न उनलाई खुब मन पर्छ-यस्तै अध्यात्म सम्बन्धी कुराहरू। उनको आध्यात्मिक झुकाउ मलाई मन पर्छ।
माथि छतमा मलाई देखेको बेला उनी मसँग कुरा गर्छिन्। म तर्कन खोज्छु। तर उनी मलाई बोलाउँछिन्। यसरी हाम्रो घनिष्ठता बढ्दै गएको छ। बिदाको बेलामा, फुर्सदको बेलामा घर आउँछिन् र आध्यात्मिक कुराहरूको हामीमा संवाद चल्छ । उनले जानेको कुरा मलाई भन्छिन्, अनि मैले थाहा पाएको कुरा उनलाई भन्छु। हाम्रो मित्रता यसरी बढ्दै पनि गएको छ ।
यसैले म सौराहा गएको बेलामा उनले मलाई खोजिछन्, पाइनन् र आज देखिन् र मसँग सौराहाको गतिविधि सोध्न आइन् । मैले त्यहाँ सिकेका-जानेका कुरा उनलाई भन्नुपर्छ ।
“यो आर्य मौन कहाँबाट सुरु भएको हो दिदी…” उनी प्रश्न थप्छिन्।
“बुद्धको शिक्षामा मौनताको एउटा विशेष अवसर समावेश छ, जहाँ बुद्धले आफ्ना चेलाहरूलाई छलफल जारी राख्न निषेध गर्नुभयो, र मौनको अभ्यास गराउनु भयो। आर्य मौनको मतलब यो होइन कि हामीलाई कुरा गर्न अनुमति छैन। किनकि हामीले कुरा गर्नु पर्दैन, दिन र रातको त्यो अवधिमा कुरा गर्ने हाम्रो कुनै बाध्यता हुँदैन। यो एक भित्री मौन हो। मन शान्त र शान्त हुन्छ।“- म आफूले थाहा पाएको कुरा भन्छु।
“यसरी दिनरात मौनमा हुँदा हामीमा के फलित हुन्छ त दिदी…? – उनी पुनः प्रश्न गर्छिन्।
“ल सुन त,”- म बिस्तारै भन्दै जान्छु ।
“मौनताले हामीमा हुने बाह्य उत्तेजनाहरूलाई आराम गर्न दिन्छ, जसले हामीलाई ध्यान केन्द्रित गर्न र हाम्रा गहिरा विचारहरूसँग जोडिन मद्दत गर्दछ। यो व्यक्तिगत स्पष्टता र विकासको लागि आवश्यक छ। यसबाहेक, मौनताले राम्रो सञ्चारलाई बढवा दिन्छ। किनकि,निरन्तर कुराकानी भन्दा विरामहरू बढी अर्थपूर्ण हुन्छन्।“-म उनको जिज्ञासा मेटाउने प्रयास गर्छु।
“मौनमा ध्यान कसरी गरिन्छ त दिदी… । ?”- उनी जिज्ञासा पोख्छिन्
“यो १० दिनको कार्यक्रम हो। हामी यसलाई २१ दिन पनि गर्न सक्छौँ । त्यो हामीमा निर्भर गर्छ- कति दिन गर्ने भनेर । पहिलो तीन दिन हामीलाई अनापान सती गराइयो। तिमी सोध्न सक्छौ की अनापान भनेको के हो? तिमीले पहिले यो कुरा बुझ्नुपर्छ कि ध्यानको श्वाससँग धेरै गहिरो सम्बन्ध छ। तिमीलाई थाहा छ कि रिसाएको बेलामा श्वास एक प्रकारले चल्छ भने, शान्त भएको बेलामा अर्कै प्रकारले चलेको हुन्छ। कहिलेकाहीँ यति श्वास बिस्तारै गहिरो चलेको छ भने मन धेरै अद्भुत प्रकारले आनन्द भएको हामीलाई लाग्दछ । मनका सबै दशाहरूको श्वाससँग गहिरो सम्बन्ध हुन्छ। यसैले पहिलो दश दिनमा तीन दिन हामी अनापानको अभ्यास गर्छौँ। आएको-गएको श्वाससँगै हामी नासा पुटमा हेरिरहन्छौ। श्वाससँगै बाहिर जान्छौँ, श्वाससँगै भित्र पस्छौँ। यो प्रयोगले हामीमा अनौठो रूपान्तरण हुनेछ। हामी आफूलाई पनि त्यो रूपान्तरणको महसुस हुनेछ।“-म उनलाई प्रस्ट्याउँछु।
“अनापान किन गरिन्छ दिदी…?”- उनी पु:न प्रश्न गर्छिन्
“आनापानसतिको अभ्यासले मनको बहिर्मुखी स्वभाव नाश गर्दछ । मनको जागरूकताको विस्तार गर्दछ। यसले विपश्यना गर्नको लागि संवेदनाहरूको उत्पत्ति, मनको अवचेतन क्षेत्रसम्ममा प्रवेश, चित्तको विकार नाश, राग-द्वेष आलम्बन आदि प्रदान गर्दै हामीलाई चेतनाको तलमा लैजान मद्दत गर्छ। यसैले आनापानसति न गरिकन विपश्यना गर्न सकिँदैन। “- म भन्छु
“अनि दिदी…”- उनी खुब चाख मान्छिन्।
“त्यसपछि चौथो दिनदेखि हामीलाई विपश्यनाको अभ्यास गराइन्छ। तिमी पु:न प्रश्न गर्न सक्छौ- “विपश्यना के हो” भनेर। विपश्यना मानव इतिहासको सबैभन्दा महत्त्वपूर्ण ध्यान विधि हो। विपश्यना शब्दको अर्थ हो- हेर्नु, फर्केर हेर्नु। बुद्ध भन्नुहुन्थ्यो- आऊ र हेर! मान्नु आवश्यक छैन। बुद्धको हेर्ने जुन प्रक्रिया थियो, देखाउने जुन प्रक्रिया थियो त्यसैको नाम विपश्यना हो। आफ्नो आउँदै-जाँदै गरेको श्वासलाई आफैले हेर्नु, श्वासद्वारा नै हाम्रो आत्मा र शरीर जोडिएको हुन्छ। यदि हामीले श्वासलाई ठिकसँग हेरिरहौँ भने हामीले आफूलाई शरीरभन्दा अलग्गै छुट्टै भएको पाउनेछौँ। श्वासलाई हेर्नको लागि हामी आफ्नो आत्मा चेतनामा स्थिर हुनु अत्यन्त आवश्यक छ। चेतना स्थिर हुनको लागि नै हामीले ३ दिन अनापान गर्छौँ। जब मन स्थिर हुन्छ अनि विपश्यना गर्छौँ।“-म आफ्नो अनुभव सुनाउँछु।
उनको जिज्ञासा शान्त हुँदैन।त्यसैले उनी प्रश्न गर्छिन्। मलाई पनि उनलाई आफ्नो कुरा भन्न मन पर्छ।
उनी मलाई सुनिरहन्छिन्।
” हामीले फेर्ने श्वास त बाहिरको हावा होइन र दिदी… ?” उनी अनौठो प्रश्न गर्छिन्।
म उनलाई पुलुक्क हेर्छु। उनी मलाई नै हेरिरहेकी हुन्छिन्।
“हो, सरसर्ती हेर्दा यो बाहिरको हावा हो। तिमीलाई थाहै छ कि हामी अक्सिजन लिन्छौँ । कार्बन डाइअक्साइड फाल्छौँ। तर यो अक्सिजन के हो त ? विज्ञानको भाषामा हामीले लिने श्वासलाई अक्सिजन नै भनिन्छ। तर्,यो न भित्र छ, न बाहिर छ। यो मध्यमा छ। भित्र चेतना छ, बाहिर हाम्रो शरीर छ। दुवैको मध्यमा हाम्रो श्वास छ। शरीर एउटा किनारा हो भने, आत्मा अर्को किनारा हो। यो नदीमाथि पुलको काम नै श्वासले गर्दछ । यसैले बुद्धले विपश्यनामा यति जोड दिनुभयो । उहाँ भन्नुहुन्थ्यो- तिमी ठिक बिचमा हिँड न त पदार्थवादी होऊ, न आत्मवादी होऊ । श्वासको प्रति जागरूक होऊ। श्वासको एक छेउ पदार्थ छ, अर्को छेउ चैतन्य छ। यसैले श्वासलाई म बाहिरको भन्दिन । श्वास बाहिर र भित्रको जोड हो। त्यसैले त बारबार बाहिर जान्छ फेरि भित्र आउँछ, फेरि बाहिर जान्छ। फेरि भित्र आउँछ। यो न बाहिरको हो न भित्रको हो। दुवैको मध्यको हो।“-यति भन्दै म उनलाई पुरुक्क हेर्छु। उनी मलाई सुनिरहेकी हुन्छिन्।
“दिदी, हजुरको कुरा त मलाई जति सुने पनि सुनिरहौँ लाग्यो”- भन्दै उनी मलाई हेर्छिन्। म मुसुक्क हाँसिदिन्छु।
“अध्यात्मको मार्ग नै कौतूहलपूर्ण छ तर रसिलो छ। जति सुन्यो, जति साधना गर्यो उति प्यास जाग्ने मार्ग हो-यो।“- म उनलाई आफ्नो विचार भन्छु।
“दिदी, दस दिन सम्म हामी केवल आउने जाने गरेको श्वासलाई मात्रै हेर्छौँ त ?”- उनको जिज्ञासा मेटिँदैन।
म बिस्तारै भन्छु-“हो, हामी श्वासलाई हेर्दै-हेर्दै कायानुपस्यना गर्छौँ। कायानुपस्यासँगै चित्तानुपश्यना, वेदनानुपश्यना तथा धम्मानुपश्यना पनि सँगै गर्छौँ।”
“मैले हजुरले भनेका यी कायानुपस्या, वेदनानुपश्यना, चित्तानुपश्यना तथा धम्मानुपश्यना शब्दहरू कुनै पनि बुझिन दिदी। मलाई यी शब्दहरूको अर्थ लगाउनुहोस् न। यो के हो र कसरी गरिन्छ ?”-उनमा कौतूहल जाग्दै गएको म बाट लुक्दैन।
“काया भनेको हाम्रो शरीर हो। यो शरीरलाई अनित्यभाव तथा अनात्मभावले जब हामी शिरदेखि पैतलासम्म र पैतलादेखि शिरसम्म एक-एक इन्च गर्दै सूक्ष्म, सूक्ष्मतम एकाइमा दीर्घकालसम्म काया र चित्तलाई टुक्र्याउँदै हेर्न थाल्छौ, हामीमा एक प्रकारको संवेदना उत्पन्न हुन्छ । त्यो संवेदनालाई वेदनानुपस्यना भनिन्छ । त्यो वेदनालाई नभोगीकनै यी संवेदनाका अनित्य गुण, धर्म, स्वभावलाई समभावमा त्यो कायामा अवलोकन गर्छौ, त्यसलाई कायानुपश्यना भनिन्छ।“- म भन्दै जान्छु।
“विपश्यनाको अभ्यास गर्दा कायानुपश्यना, वेदनानुपश्यना, चित्तानुपश्यना र धर्मानुपश्यना सँग-सँगै हुन्छ।तर हामीलाई अनुभूति हुँदैन। जब हामी विपश्यना गर्छौँ, अनि यिनीहरूको संवेग हामीलाई बिस्तारै-बिस्तारै थाहा हुन्छ । सराग चित्त, वितराग चित्त आदि चित्त प्रभेदमा दृढतापूर्वक स्थिर हुने स्मृतिलाई बौद्ध साहित्यमा चित्तानुपस्यना भनिन्छ। त्यस्तै निर्माण आदि धर्ममा दृढतापूर्वक स्थिर हुने स्मृतिलाई बुद्धको भाषामा धम्मानुपश्यना भनिन्छ । जब हामी विपश्यनाको अभ्यास गर्दै जान्छौँ अनि मात्र यिनीहरूलाई राम्ररी अनुभव र बुझ्ने छौँ । परिभाषाले हामीलाई बोध गराउँदैन । अभ्यास र साधनाले हामीलाई बोध गराउँछ।”- भन्दै यसो भित्ताको घडी हेर्छु । दिनको ३ बजिसकेको हुन्छ । नानी स्कुलबाट आउने बेला हुन्छ ।
“माथि जाऊँ”- भन्छु उनलाई । हामी दुवै माथि भान्छामा आउँछौ । चिया नास्ता बनाएर उनलाई दिन्छु ।
उनी खाँदै भन्छिन्- “दिदी, हजुरले आज मलाई धेरै कुरा सिकाउनुभयो। कति बुझे ,कति बुझिन ।तर जे होस मलाई पनि आर्य मौनमा जान मन लागेको छ। फेरी कहिले हुन्छ भन्नुस् है।”
“हुन्छ!! ओशो आश्रम सौराहबाट दश दिनमा मैले पाएका आर्य मौनका अनुभूतिहरू यसरी भन्न पाउँदा मलाई पनि खुसी लागेको छ, रिमा”- म भन्छु ।
मेरो समयको ख्याल गर्दै उनी भान्छाबाट बाहिर निस्किन्छिन्। म पनि उनीसँगै बाहिर निस्किन्छु।
“ल दिदी, भोलि फेरि भेटौला है!!” भन्दै उनी बिस्तारै भर्याङ ओर्लिन्छिन्। म पनि उनको पछि-पछि तल ओर्लिन्छु।
“शरीरका अनुभूतिहरू निरन्तर हुन्छन् । क्षण-क्षणमा विभिन्न प्रकारका संवेदनाहरू अनुभव गर्न सकिन्छ। तर हामी ती संवेदनाहरूलाई सचेत रूपमा महसुस गर्न सकेका छैनौँ। यसको लागी हामी सधैँ सतर्क र सक्रिय हुनु पर्छ। किनकि हाम्रो चेतना सुतेको छ। हामी शरीरमा भइरहेका घटनाहरूप्रति सतर्क छैनौँ। हामीले भावना वा इन्द्रियको स्तर मार्फत आफ्नो शरीरलाई यथास्थितिमा महसुस गर्न आवश्यक छ। गर्मी, शरीरमा न्यानोपन, वा चिसो एक प्रकारको अनुभूति हो। जब कोही वा कहिले हामीलाई छुन्छ, हामी स्पर्शको अनुभूति महसुस गर्छौ। त्यस्तै गरी, आफ्नै कपडाको स्पर्श पनि एक सनसनी हो। हामीले श्वास फेर्दा पनि हाम्रो नासापुटमा एक किसिमको संवेदना हुन्छ ।जुन हामीले ख्याल नै गरेका हुँदैनौ। यी माथिका अनुपस्यनाहरूले यी सबै कुरा हामीलाई सिकाउँछ।
“यसो गर्दा के हुन्छ दिदी”-उनी प्रश्न गर्न पछि पर्दिनन्
“जब हामी यसरी कायामा उत्पन्न भएका संवेदनाहरूमाथि अवलोकन गर्न थाल्छौ तब हामीमा मनको चञ्चल स्वभाव, नयाँ संस्कारको उत्पत्ति, सङ्ग्रहित संस्कार, अनित्य बोध, अनात्मबोधलाई बिस्तारै बिस्तारै नाश गर्दै, समाधान गर्दै स्व-चिन्तनतिर्, चेतनातिर हाम्रो पाइला बढ्न थाल्दछ ।”-म प्रस्ट्याउँछु