माग पुरा गर्न अध्यक्ष डा. केसीले लबिङ तीव्र पार्दै
काठमान्डु । प्रधानमन्त्री केपी ओलीले गैर आवासीय नेपालीहरूको मागहरू आगामी हिउँदे अधिवेशनमा सम्बोधन हुने बताउनु भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आइतबार साँझ गैर आवासीय नेपाली सङ्घका अध्यक्ष डा. बद्री केसीसँग भएको भेटमा प्रधानमन्त्री आलीले उक्त कुरा बताउनु भएको हो । भेटमा अध्यक्ष डा. केसीले गैर आवासीय नेपाली सङ्घले आगामी हिउँदे अधिवेशनबाट विदेशमा रहेका नेपालीहरूलाई संविधानले सुनिश्चित गरेका सामाजिक, आर्थिक र सांस्कृतिक अधिकारको कार्यान्वयनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग अनुरोध गर्नुभएको थियो ।
सङ्घका अध्यक्ष डा केसीले प्रधानमन्त्री ओलीलाई भेटेर संविधानले नै स्पष्ट रूपमा दिएको अधिकार कार्यान्वयनमा सहजीकरण गरिदिन अनुरोध गर्नुभएको हो । अध्यक्ष डा केसीले लगानीको सवालमा सरकारले धेरै हदसम्म माग सम्बोधन गरे पनि उक्त लगानी भित्र्याउन आवश्यक गैर आवासीय नेपाली नागरिकताकै कार्यान्वयन नहुँदा प्राप्त उपलब्धिमा पनि खुसी हुने अवस्था नभएको बताउनुभएको थियो । बारम्बार ध्यानाकर्षण गराउनुका साथै, नेपाल कानुन सुधार आयोगबाट समेत प्रस्तुत भएको मस्यौदालाई पनि बेवास्ता गर्दै पछिल्लो पटक गैर आवासीय नेपाली नागरिताबहाकलाई १० वर्ष भिसा शुल्क छुट हुने प्रावधानको अध्यादेश जारी भएकोप्रति असन्तुष्टि जनाउँदै अध्यक्ष डा केसीले भन्नुभयो, ‘हामी आफ्नै देशमा आउन पनि पैसा तिरेर आउनुपर्ने प्रावधान आयो प्रधानमन्त्री ज्यू? के हामी नेपाली होइनौँ? संविधानले नै दिएको अधिकार पनि संकुचित पार्दा विदेशमा बस्ने ८० लाख नेपाली हतोत्साहित भएका छन् ।ʼ
जवाफमा प्रधानमन्त्री ओलीले संविधानमै भएका कतिपय व्यवस्थाका लागि कानुन निर्माणको चरणमा रहेकोले पनि कार्यान्वयनमा ढिलाइ भए पनि अब छिट्टै यो समस्या समाधान हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘अब संसद् बैठक आह्वान हुँदा तपाईँहरूको समस्या पनि सम्बोधन हुन्छ, सबै एकै पटक नभए पनि क्रमशः तपाइहरूले भोग्नुपरेको कठिनाइ सम्बोधन हुन्छ ।ʼ सरकारले अध्यादेश मार्फत गैर आवासीय नेपालीहरूलाई १० वर्षे भिसा दिने व्यवस्था लागू गरेपछि सङ्घका अध्यक्ष डा. बद्री केसीले राजनीतिक नेतृत्वसँगको भेटलाई तीव्र पार्नुभएको छ । यसअघि यहाँले नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा, गृहमन्त्री रमेश लेखक लगायतलाई भेटेर सङ्घका माग बारे ध्यानार्कषण गराउनु भएको छ ।