अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४० | Colorodo: 02:55

सम्झनामा- डेनमार्क

रमा दुलाल २०८१ माघ ११ गते ९:३३ मा प्रकाशित

यात्रा रमाइलो र रोमाञ्चक हुन सक्छ। अनि यात्रा दुःखद र स्मरणीय पनि बन्न सक्छ। “ड्यानिडा फेलोसिप प्रोग्राम” अन्तर्गत विभिन्न निकायका हामी पाँच जना “लिडरसिप इन पब्लिक सेक्टर” विषयमा सहभागी हुन केही वर्षअघि डेनमार्क पुग्छौँ।

हामी पाँच जना डेनमार्कको सात हप्ते बसाइले एउटै परिवारको सदस्य बन्न पुग्छौँ। हाम्रा मन र मुटु एक अर्काको दुःख, पिर र समस्या पहिचान गरी समाधान गर्न सक्ने भई सक्छन्। भनिन्छ, मानिस जति नजिक हुन्छ- त्यति नै उसको गुण तथा कमजोरीको पहिचान हुन्छ। हामीले डेनमार्कको बसाइमा यही अनुभव गर्‍यौ।

डेनमार्क बाल्टिक र उत्तरी समुद्रको बिचमा अवस्थित उत्तरी युरोपमा पर्छ। छिमेकी राष्ट्रको तुलनामा यो एउटा सानो देश हो। डेनमार्कभन्दा स्विडेन १० गुना र जर्मन आठ गुना ठुलो छ। डेनमार्कमा एउटा कोस्टाल्यान्ड (समुद्र नजिकको जमिन) र ४०७ आइसल्यान्ड (पानीले भरिएको सानो टुक्रा जमिन) छन्। तीमध्ये सिल्यान्ड, भेन्टिसी, फ्युनेन र बर्नहर्म मुख्य हुन्।

डेनमार्कको एउटा अचम्म के छ भने यहाँ हरेक दिन एक सेकेन्ड पानी पर्छ। जनवरी र फेब्रुअरी सबैभन्दा जाडो र अगस्ट न्यानो महिना हो। डेनमार्कमा पुरुषको औसत आयु ७५ वर्ष छ भने महिलाको ८० वर्ष छ। डेनमार्कको राजधानी कोपेन हेगन हो। यहाँको मुख्य सहर आओस्, ओडेन्स र अलबर्ग हो। यहाँको डेनिस मुख्य भाषा हो भने प्रति व्यक्ति आम्दानी ४४,८०५ अमेरिकी डलर छ। यहाँ ५४ लाख मानिस बस्दछन्। डेनमार्कमा थुप्रै टापु छन्, तर कुनै पहाड छैन।

डेनमार्क १९७३ पछि नै युरोपीय सङ्घको सदस्य बनेको छ। यसको साथ साथै डेनमार्क नेटो ओईसीडीको संस्थापक सदस्य हो। यो देश २००८ वैश्विक शान्ति सूचकाङ्क सर्वेक्षणमा आइसलैंड पछि विश्वको दोस्रो शान्तिपूर्ण देश र संसारको सबै भन्दा कम भ्रष्ट देशमा सामेल छ।

डेनमार्क सरकारले नेपालमा “द डानिडा बिजनेस पार्टनरसिप” कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यक्रमको उद्देश्य गरिबी न्यूनीकरण गर्नु, हरित बुद्धिलाई सहजीकरण गर्नु, महिला उद्यमीहरूलाई सशक्तीकरण गर्नु, नेपालमा रोजगारीका अवसरहरू सृजना गर्नु, स्थानीय उद्यमहरूको प्रतिस्पर्धात्मकता बढाउन गर्नु र कर्मचारी, तिनका परिवार, स्थानीय समुदाय र समाजको हितका लागि कर्पोरेट सामाजिक उत्तरदायित्वलाई प्रवर्द्धन गर्न मद्दत गर्नु हो।

डेनमार्क सरकारले शान्तिको सुदृढीकरण, मानवअधिकारप्रतिको सम्मान र लोकतान्त्रिक मूल्य, गरिबी घटाउन, प्राथमिक तहसम्म सबैलाई शिक्षा दिन, शिक्षा क्षेत्रमा लैङ्गिक समानतामा जोड दिन, बाल मृत्यु दर घटाउन, मातृ स्वास्थ्यमा सुधार गर्न, एचआइभी एड्स मलेरिया र अन्य रोगसँग लड्न सक्ने क्षमता विकास गर्न, वातावरणीय दायित्व जोगाउन तथा विकासको लागि ग्लोबल सहभागितामा विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

डेनमार्कको सामाजिक संरचनाको केन्द्र न्युक्लियर फिमेली हो। बालबालिकालाई सानैदेखि आत्मनिर्भर हुने तरिकाले हुर्काइन्छ। परिवार सुरु गर्नको लागि विवाह अनिवार्य सर्त छैन- त्यहाँ ।

युरोप यात्रा मेरो पहिलो थिएन । यसअघि पनि मैले बेलायत, फ्रान्स, स्विजरल्यान्ड, जर्मनी, नेदरल्यान्ड, बेल्जियम लक्जम्बर, रुस आदि देशको भ्रमण गरिसकेकी थिए। त्यसैले डेनमार्क मेरो लागि नौलो थिएन। त्यहाँको वातावरण, विकास, मानिसको व्यवहार, खानपान नेपालको परिवेशमा नौलो थियो। तर अरू युरोपियन देशको तुलनामा नयाँ थिएन।

डेनिस सहरको मान्यता छ- प्रेम गर्नलाई उमेरले छेक्दैन । यसैले होला ८६ वर्षीय हजुरआमाहरू दुलही बन्न र ८९ वर्षीय हजुरबुबाहरू पनि दुलहा बन्न हिचकिचाउँदैनन्। अर्कोतिर १९ वर्षका अल्लारे युवक अनि १८ वर्षको युवतीहरू पनि विवाह बन्धनमा बाँधिन पछि पर्दैनन्।
स्वतन्त्र समाज, स्वतन्त्र विचार अनि १८ वर्ष पुगेपछि बाबु-आमाको दायित्वबाट पन्छिने संस्कारले नयाँ पीढीले कु-बाटो नसमाउला भन्न पनि सकिँदैन।

हामीलाई डेनमार्कको सामाजिक संस्कारको विषयमा जानकारी दिँदा “स्टिल यु ह्यब सिङ्गल वाइफ”- भनेर केही अफ्रिगन साथीहरूले रमाइलो गरेका थिए।

जिन्दगीभर महिलाले एउटै पुरुषसँग र पुरुषले एउटै महिलासँग घर-जम गरेर बस्नु उनीहरूको संस्कारमा आठौँ अचम्म हुँदो रहेछ। मन नमिल्ने बित्तिकै सम्बन्ध विच्छेद गर्दा रहेछन्। यसैले होला उनीहरूको वैवाहिक जीवन हाम्रो जस्तो स्थायी र सुखद हुँदैन। छैन पनि।

डेनिस श्रम बजारको पनि आफ्नै विशेषता छ। अन्य युरोपियन मुलुकहरूभन्दा डेनिस महिलाहरू धेरै समय काम गर्छन्। १६ देखि ६४ वर्षसम्मका महिलाहरू श्रम बजारमा काम गर्दछन्। १७% पुरुष र २४% महिलाहरू श्रम बजारमा अतिरिक्त समय काम गरिरहेका हुन्छन्।

डेनिस समाजमा सोसियल सेक्युरिटी बलियो छ। बेरोजगारीलाई बेरोजगार भत्ता दिइन्छ तर डेनिसहरू बेरोजगार भत्ता लिनु भन्दा श्रम बजारमा काम गर्न मन पराउँछन्।

प्राय डेनिसहरू शारीरिक रूपमा तन्दुरुस्त हुन्छन्। चुरोट र बोसोजन्य पदार्थ प्राय खाँदैनन्- उनीहरू।
परिवारको आम्दानी त्यहाँको महानगरपालिकामा भर पर्दछ। कुन महानगरपालिकामा आवास छ त्यसै अनुसार आयकर निर्धारण गरिन्छ।
उत्तरी कोपेन हेगनमा बचत आम्दानी बढी गर्न सकिन्छ भने कोपेन हेगन नगरपालिकामा सबभन्दा कम।
जर्मनिज र नर्वेजियनहरू डेनमार्क भ्रमण गर्न रुचाउँछन् भने डेनिसहरू स्पेन, इटाली, फ्रान्समा बढी जान्छन्।
डेनिस सरकारले नेपाल, बङ्गलादेश, भुटान, भियतनाम, इजिप्ट, घाना, केन्या, माली, तान्जनिया, युगान्डा, जाम्बिया लगायतका देशमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सबैका लागि शिक्षा कार्यक्रम अन्तर्गत डेनमार्क पुगेका हामी पाँच र अन्य मुलुकबाट आएका १५ जनाले साथ हप्ते बसाइँमा सिकेका कुराहरू आफ्नो क्षेत्रमा लागू गर्न वैयक्तित कार्य योजना तयार गर्नुपर्ने रहेछ। सोही अनुसार मैले लैङ्गिक लेखा परीक्षण के किन र कसका लागि भनी कार्य योजना तयार पारे।

लैङ्गिक लेखापरीक्षण एउटा उपकरण हो जस्ले लेखापरीक्षणको नीति, कार्यक्रम, परियोजनाहरू र सेवा, संरचना, कारबाही र बजेटको प्रावधान सहित संगठनहरूमा लैङ्गिक समानताको संस्थागतीकरणको मूल्याङ्कन र जाँच गर्दछ। यस प्रकारको लेखापरीक्षणले कुनै खास संस्था, कार्यक्रम वा नीतिमा लिङ्गलाई कसरी लिइएको छ भनेर समीक्षा गर्छ। यस्का कमजोरीहरू पहिचान गरि लैङ्गिक समानताको लागी सुधार गर्ने बाटो देखाउछ।आफ्नो देशमा फर्केपछि अवश्य लागू गर्नेछु भन्ने प्रतिबद्धता जनाएर हामी नेपाल फर्क्यौँ ।

आज डेनमार्क मिठो सम्झनामा मुटुभरी बसेको छ। लैङ्गिक लेखा परीक्षण नीति र कार्यक्रमभरी फिजिएको छ। लैङ्गिक समानताको चिनारी दिएको छ। परिश्रमको मिठो बोध गराएको छ डेनमार्कको बसाइले लैङ्गिक समानता र समताको मिठो पाठ पनि सिकाएको छ।