अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:२५ | Colorodo: 00:40

डायस्पोरा नेपाली संस्था, UNDO को महाधिवेशन सम्पन्न: सभापतिमा सोनाम लामा

कृष्ण के सी २०८१ पुष १६ गते ११:५४ मा प्रकाशित

अमेरिका । डायस्पोरा नेपालीहरूको नयाँ संस्था United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडीओले स्थापना भएको करिब डेढ बर्सपछि पहिलो अन्तर्राष्ट्रिय महाधिवेशन यही डिसेम्बर २८ र २९ मा काठमाण्डौमा सम्पन्न गरेको छ। महाधिवेशनले सोनाम लामाको सभापतित्वमा आगामी तीन वर्षको लागि नयाँ नेतृत्व समेत चयन गरेको छ।

२९ सदस्य कार्यसमितिमा ५ महिला र ५ पुरुष केन्द्रीय सदस्य मनोनीत गरिनेछ। साथमा खाली रहेका पदमा पनि नयाँ नेतृत्वले मनोनीत गर्नेछ।

कानुनका विज्ञहरू समेतको परामर्श लिएर मार्च २०२२ मा काठमाण्डौमा गैर आवासीय नेपाली संघका अग्रज, वर्तमान रूपमा लागि परेका एनआरएनहरूको छलफलले यूएनडिओ नामको संस्था स्थापना गर्नुपर्ने निष्कर्षमा पुगेर यो संस्था स्थापना गरेको थियो। त्यसपछि दर्ता प्रक्रियाको लागि नेपाल सरकारको परराष्ट्र मन्त्रालयमा निवेदन दिँदा लामो समय लाग्यो। त्यसैले कानुनी रूपमा नेपालको सर्वोच्च अदालतमा अपिल गरिएको थियो।

जुलाई ३०, २०२३ आइतबारका दिन नेपालको सर्वोच्च अदालतले नेपाल सरकारको परराष्ट्र मन्त्रालयलाइ United Nepali Diaspora Organization (UNDO)/युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन-यूएनडिओ नामको संस्था दर्ता स्वीकृत गर्नु भन्ने आदेश दिएको थियो। सोही आदेश अनुसार नेपाल सरकारको परराष्ट्र मन्त्रालयबाट विदेशमा बस्ने नेपाली र नेपाली मुलका नेपाली सम्बन्धी ऐन अन्तर्गत नै यो संस्था दर्ता गरेको हो। तर गैर आवासीय नेपाली सङ्घ NRNA र UNDO बिच भने धेरै कुरा फरक छन्।

नेपाल सरकारको परराष्ट्र मन्त्रालयको एनआरएन ऐन अन्तर्गत डायस्पोरा नेपालीहरू सदस्य र संलग्न हुने गरी यो संस्था दर्ता भएको हो। संस्था गैर आवासीय नेपाली संघका पूर्व उपाध्यक्ष सोनाम लामाको संयोजकत्वमा United Nepali Diaspora Organization (UNDO) संस्थाको स्थापना गरिएको थियो।

यसमा वास्तविक गैर आवासीय नेपालीहरूको संलग्नता हुने वैधानिक व्यवस्था छ। तर कानुनी रूपमा दुई वर्ष भन्दा धेरै समय सार्क मुलुक बाहिर बसेका सबै नेपाली र नेपाली मुलका व्यक्तिहरू संस्थाको सदस्य बन्न पाउने छन्। नेपालको एनआरएन ऐनले एनआरएन को को हुन् भनेका वाक्यांश नै यहाँ लागु हुनेछ।

UNDO ले नेपालको दिगो सामाजिक–आर्थिक विकासको परिणामको लागि अग्रणी पहलहरू गर्न प्रतिबद्ध रहेको छ। संस्थाले नीति निर्माताहरू, नेतृत्वप्रदायी क्षमता भएका व्यवसायीहरू र सरोकारवालाहरूसंग मिलेर काम गर्दछ। यसले सबै नेपालीहरूलाई फाइदा पुग्ने विषयहरूको पहिचान गरी कार्यान्वयनमा ल्याउनेछ जसले भावी पुस्ताहरूका लागि प्रगतिको विरासत सिर्जना गर्नेछ।

विधान अनुसार संस्थाको अन्तर्राष्ट्रिय महाधिवेशन हरेक ३/३ वर्षमा नेपालमा भौतिक रूपमा उपस्थित भएर हुन्छ।

यही डिसेम्बर २८-२९ सम्म आयोजना गरिएको यो पहिलो महाधिवेशनले आगामी तीनबर्ष अर्थात् २४-२७ सम्मको लागि नयाँ नेतृत्व समेत चयन गरेको हो। महाधिवेशनले अल्पकालीन र दीर्घकालीन योजना समेत पारित गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू